यातायात कार्यालय रुकुम पश्चिम, चौरजहारीले सवारी चेकजाँचमा कडाइ गरेको छ । सवारी दुर्घटना न्यूनीकरण गर्न र सडक सुशासन कायम गर्न भन्दै यातायात कार्यालयले सवारी छट्के चेकजाँच बढाएको हो । कागजात भए नभएको जाँच र सवारी साधनको यान्त्रिक परीक्षणमा जोड दिइएको कार्यालयका प्रशासकीय अधिकृत देवबहादुर चन्दले जानकारी दिनुभयो । जसअन्तर्गत आज जिल्ला सदरमुकाम मुसिकोटमा छट्के चेकजाँच गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार यातायात कार्यालयको नेतृत्व र जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयको समन्वयमा राप्ती राजमार्ग र मध्य पहाडी लोकमार्गको संगमस्थल मुसिकोट नगरपालिका वडा नम्बर ४ को शितलपोखरीमा सवारी चेकजाँच गरिएको हो । जम्मा ८१ वटा सवारी साधन चेक गरिएकामा १८ वटा सवारी साधन कारबाही परेका छन् ।
बस मिनिबस १० वटा चेकिङमा परेकामा १० वटै कारबाहीमा परेका छन् । ६ वटा जिप कार मध्य २ वटा, ५५ वटा मोटरसाइकल स्कुटर मध्यमा ६ वटा कारबाहीमा परेको चन्दको भनाई छ । सवारी कारबाहीबाट १९ हजार पाँच सय राजश्व समेत उठेको उहाँले बताउनुभयो । बस, मिनिबसबाट १३ हजार पाँच सय, जिप, कारबाट एक हजार पाँच सय र मोटरसाइकल, स्कुटरबाट चार हजार पाँच सय गरी कुल १९ हजार पाँच सय राजश्व सङ्कलन भएको बताइएको छ ।
यसका साथै दुई वटा ट्याक्टर, सात वटा अटो रिक्सा र एउटा टिप्पर समेत चेकिङमा परेको छ । आवश्यक कागजात नबोक्ने, यान्त्रिक अवस्था ठिक नभएको, अनुमति बिना सफटप र हुट थप गरेका लगायतका सवारी साधनलाई कारबाही गरिएको प्रशासकीय अधिकृत चन्दले बताउनुभयो । यसैबिच जेठ ७ गते सानीभेरी गाउँपालिकामा छट्के चेकिङ गरिएको थियो ।
जसक्रममा पनि १९ वटा सवारी साधन कारबाहीमा परेका थिए । चालकको लापरबाही तथा पुराना सवारी साधनका कारण सडक दुर्घटना बढिरहेकाले ट्राफिक नियमको पालना गराउन चेकजाँचलाई निरन्तरता दिएको यातायात कार्यालयले जनाएको छ । यसका साथै पुराना सवारी साधनलाई मर्मत सम्भारका दबाब दिने तथा त्यस्ता साधनलाई विस्थापित गरी सडक यातायात सेवालाई भरपर्दो बनाउने समेत लक्ष राखिएको कार्यालयको भनाई छ ।
छट्के जाँचमा सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी, यातायात कार्यालय चौरजहारीका प्रशासकीय अधिकृत देवबहादुर चन्द, जिल्ला ट्राफिक प्रहरी प्रमुख भरतबहादुर शाही लगायतको टोली खटिएको थियो ।
चौरजहारीमा २०७६ साल भाद्र १२ गते यातायात कार्यालय स्थापना भए पनि तीन वर्षपछि २०७९ फागुन २१ गतेदेखि सेवा सुचारु भएको थियो । कार्यालयबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी हुनुका साथै सवारी दर्ता, नवीकरण, जाँच पास, रुट परमिट, चालक अनुमति पत्र दस्तुर र नवीकरण लगायतका सेवा प्रवाह भइरहेका छन् ।