गत कार्तिक १७ गतेको जाजरकोट भूकम्पका प्रभावितले तत्काल पुनर्निर्माणको माग गरेका छन् । पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरसँगको भेटमा रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावितले तत्काल पुनर्निर्माणको माग गरेका हुन् । भूकम्प प्रभावितको अवस्था बुझ्न प्रतिनिधि सभा सदस्य शर्मा जाजरकोटको नलगाड नगरपालिकामा पुग्नुभएको थियो । जहाँ उहाँले जाजरकोटको नलगाड नगरपालिका ११, १२ र १३ तथा रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका ४, ५ र ६ नम्बर वडाका भूकम्प प्रभावितहरूसँग नलगाड १२ को तल्लुबगरमा अन्तरक्रिया गर्नुभएको थियो ।
जसक्रममा भूकम्प प्रभावितहरूले अहिलेसम्म जसोतसो बसेको र अब बर्खा सुरु हुन लागेकोले थप समस्या निम्तिने भन्दै चिन्ता व्यक्त गरेका थिए । ढिलो गरी भए पनि जसोतसो अस्थायी आवास निर्माण गरेको तर दोस्रो किस्ताको रकम अझैसम्म नपाएको समेत भूकम्प प्रभावितले गुनासो गरेका थिए । अस्थायी आवासमै धेरै विलम्ब भएको भन्दै भूकम्प प्रभावितले पुनर्निर्माण कहिलेबाट सुरु हुन्छ भन्ने प्रश्न गरेका थिए । कस्ता घर निर्माण गर्न पाइने हो यसबारेमा निश्चित भएर तत्कालै पुनर्निर्माण सुरु भएमा सहज हुने विश्वास भूकम्प प्रभावितहरूले व्यक्त गरेका थिए ।
जवाफमा पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य शर्माले आफू पुनर्निर्माणका लागि पहल गरिरहेको बताउनुभयो । ‘म भूकम्प गएकै दिन देखि तपाइहरूकै साथमा छु, सुरुमा उद्धार, उपचार, मृतकको अन्त्येष्टि, तत्कालीन परिपूरण र त्यसपछि अस्थायी आवास निर्माणमा केन्द्रित भएँ, म आफै धेरै ठाउँमा पुगेर भग्नावशेष हटाउने देखि अस्थायी आवास बनाउने काममा सक्रिय भएँ, उहाँले भन्नुभयो–अहिले अस्थायी आवासको दोस्रो किस्ता निकासी र पुनर्निर्माणमा तत्काल सुरु गर्नुपर्छ भनेर लागिपरेको छु ।’ सरकारले पुनर्निर्माणका लागि प्रति परिवार पाँच लाख दिने भनेको तर कस्ता घर बनाउने बनेर मापदण्ड बनाउन ढिलाइ गरेकोले समस्या भएको उहाँले बताउनुभयो ।
यसबारेमा सरकारले छिटो सक्रियता देखाउनुपर्यो भनेर आफू सक्रियतापूर्वक लागेको उहाँको भनाई छ । साथै उहाँले पुनर्निर्माण भने घर मात्र निर्माण गर्नु नभएको बताउनुभएको छ । ‘हाम्रा घर मात्र होइन बस्तुभाउका गोठ भत्किएका छन्, विद्यालय भत्किएका छन्, स्वास्थ्य संस्था, बाटोघाटो, सार्वजनिक भवन तथा संरचनाहरू पनि भत्किएका छन्, यी सबैको पुनर्निर्माण हुनुपर्छ, उहाँले भन्नुभयो ।’ मौलिकता अनुसारको पुनर्निर्माण हुनुपर्छ भन्नेमा आफू दृढ रहेको उहाँले बताउनुभयो ।
नलगाड नगरपालिका र आठबिसकोट नगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो । नलगाड नगर प्रमुख डम्बरबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकर, कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा अनल, पूर्व जलस्रोत तथा ऊर्जा विकास मन्त्री रातो कामी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वसन्तकुमार शर्मा, नलगाड नगरपालिकाका पूर्व प्रमुख टेकबहादुर रावल, माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविन्द रोका सचिन लगायतको आतिथ्यता रहेको थियो ।
वीरेन्द्र हिमालय मावि तल्लुबगरमा भएको कार्यक्रमको सञ्चालन रुकुम पश्चिमको आठबिसकोट नगर प्रमुख रवि केसीले गर्नुभएको थियो ।