Kakhara सबैको खबर सम्पूर्ण खबर
पार्टी संरचनामा दुई तिहाइ नयाँ पुस्ता राखौँः जनार्दन शर्मा
फाइल फाेटाे ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले हरेक तहका पार्टी कमिटीमा दुई तिहाइको सङ्ख्यामा नयाँ पुस्तालाई समेट्न प्रस्ताव गर्नुभएको छ । माओवादी केन्द्र बाँफिकोट गाउँ समितिले शनिवार आयोजना गरेको पार्टीका नवनिर्वाचित वडा समिति पदाधिकारीहरूको बधाई कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले पार्टीमा नयाँ पुस्ताको बहुमत नभएसम्म गति नआउने बताउनुभयो ।

"पार्टीका हरेक निकायमा युवाहरूको बाहुल्य भए मात्र पछिल्ला चुनौतीहरूको सामना गर्न सकिन्छ।” केन्द्रीय सङ्गठन विभाग प्रमुखसमेत रहनुभएका शर्माले भन्नुभयो "विशेष महाधिवेशनसम्म जाँदा यस विषयमा देशभर बहस चलाउनुपर्छ।” पार्टीको विशेष महाधिवेशन आगामी वर्षको मङ्सिर पुससम्म गर्ने गरी शर्मा नेतृत्वको सङ्गठन विभागले पार्टीमा सिफारिस गरिसकेको जानकारी गराउँदै उहाँले नयाँ विचारको आधारमा समाजवादको मूर्त कार्यक्रम अघि सारिने दाबी गर्नुभयो ।

विशेष महाधिवेशनबाट सरकारको स्थिरता कायम हुने खालको नयाँ राजनैतिक प्रणालीको खाकासमेत तयार गर्न लागिएको शर्मा भनाइ छ । प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता शर्माले आर्थिक समृद्धिका लागि पार्टीका हरेक सदस्यहरू कुनै न कुनै उत्पादनको कार्यमा अनिवार्य रूपले जोडिन निर्देशन दिनुभयो । पार्टीका हरेक नेता कार्यकर्ताहरू आर्थिक रूपले आत्मनिर्भर नभएसम्म जनताको समृद्धिको अगुवाइ गर्न नसकिने उहाँले बताउनुभयो।

पालिका इन्चार्ज धर्म केसीको अध्यक्षता र पालिका अध्यक्ष चन्द्र बहादुर केसीको उद्घोषण रहेको कार्यक्रममा माओवादी केन्द्रका रुकुम पश्चिम जिल्ला इन्चार्ज वसन्त शर्मा, केन्द्रीय सदस्य तथा जिल्ला सङ्गठन विभाग प्रमुख गोपाल शर्मा, जिल्ला संयोजक गोविन्द रोका सचिन, केन्द्रीय सदस्यहरू गोर्खबहादुर केसी र कलबहादुर नाथले नवनिर्वाचित वडा पदाधिकारीहरूलाई बधाई दिनुभएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update