रुकुम पश्चिममा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । मुसीकोट नगरपालिका–३, स्थित सानीभेरी नदीको तालमा पौडिन गएका १४ वर्षीय निशान घर्ती मगरको बुधबार दिउँसो तालमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मुसीकोट नगरपालिका–१, को त्रिभुवन जनता माविको कक्षा ८ मा अध्ययनरत उनी विद्यालय बन्द भएपछि अरु साथिसँगै पौडी खेल्न नदी पुगेका थिए । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–५, घर भएका उनी यतै बसेर पढ्ने गरेका थिए ।
तालमा डुबेर शव उत्रिएपछि मात्रै उनका साथिहरुले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिनुभयो । गिट्टी,बालुवा निकाल्ने क्रममा डोजर खनेको खाडलमा बनेको तालमा पौडने क्रममा घर्तीको मृत्यु भएको प्रारम्भिक जानकारी आएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा लगिएको छ ।