आर्थिक वर्ष २०८०/०८१ को तेस्रो त्रैमासिकमा पनि रुकुम पश्चिम कार्यसम्पादन मूल्याङ्कनमा देशभरमै उत्कृष्ट भएको छ । गृह मन्त्रालय सँगको कार्यसम्पादन मूल्याङ्कनमा चालु वर्षको तेस्रो त्रैमासिकमा रुकुम पश्चिम र रोल्पा समान अङ्क सहित देशभरमै उत्कृष्ट भएका छन् ।
रुकुम पश्चिम र रोल्पाले समान ६४.५ नम्बर प्राप्त गरेका छन् । यी दुवै जिल्लाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक देखि नै समान अङ्क प्राप्त गरिरहेका छन् । पहिलो त्रैमासिकमा समान २९.५ अङ्क पाएका रुकुम पश्चिम र रोल्पाले दोस्रोमा १८ र तेस्रो त्रैमासिकमा समान १७ अङ्क प्राप्त गरेको गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनको तेस्रो त्रैमासिक नतिजामा उल्लेख छ ।
चालु वर्षको अन्तिम नतिजा भने अर्को आर्थिक वर्षमा प्रकाशन हुन्छ । ६४.३७५ अङ्क सहित पर्वत तेस्रो भएको छ भने ६४ अङ्कका साथ तेह्रथुम चौथो भएको नतिजामा उल्लेख छ । कार्यसम्पादन मूल्याङ्कनमा देशभरमा सबैभन्दा कमजोर भने दैलेख देखिएको छ । उसले ४६.५ अङ्क पाएको छ ।
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूसँग हरेक साउनमा १ वर्षका कामबारे कार्यसम्पादन करार सम्झौता गर्छ । जिल्ला प्रशासन कार्यालय र प्रजिअको कार्यसम्पादनलाई ६ वटा समूहमा वर्गीकरण गरिएको छ ।
शान्ति सुरक्षा तथा अपराध अनुसन्धान तथा नियन्त्रण, शासकीय प्रबन्ध, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरण, लागू औषध नियन्त्रण र मन्त्रालयको मूल्याङ्कनका लगायतका आधारमा जिल्ला प्रशासनको कार्यसम्पादन मूल्याङ्कन हुने व्यवस्था छ ।
हेर्नुहाेस कुन जिल्लाले कति अंक पाए