Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका सबै पालिकामा एमालेको नयाँ नेतृत्व
सपथ ग्रहण गर्दै नेकपा एमाले सानीभेरी गाउँपालिकाकाे नव निर्वाचित गाउँ कमिटीकाे टिम ।

नेकपा एमाले रुकुम पश्चिमले दोस्रो अधिवेशन मार्फत जिल्लाका ६ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । आइतबार सानीभेरी गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेसँगै एमालेले रुकुम पश्चिमका ६ वटै स्थानीय तह नयाँ नेतृत्व चयन गरेको हो । यस अघि त्रिवेणी गाउँपालिका, बाँफिकोट गाउँपालिका, चौरजहारी नगरपालिका, मुसीकोट नगरपालिका र आठबीसकोट नगरपालिका पार्टीले अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरिसकेको छ ।

आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा मतदान प्रक्रिया मार्फत नेतृत्व चयन भएको हो । भने ४ स्थानीय तहमा सर्वसम्मत पदाधिकारी छनोट गरिएको नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सानीभेरी गाउँपालिकामा मतदान प्रक्रियाबाट लोकबहादुर खड्का निर्वाचित हुनुभएको छ । खड्काले ४५ मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी डबलसिंह विकले १६ मत प्राप्त गर्नुभएको थियो ।

खड्काको अध्यक्षतामा २९ सदस्यीय गाउँ कमिटी निर्माण गरिएको छ । जसको उपाध्यक्षमा विरभान ओली, सचिवमा धर्मबहादुर खड्का, उपसचिवमा बलाराम कुसारी र खिमा खड्का निर्वाचित हुनुभएको छ ।  अध्यक्ष बाहेक अन्य पदहरूमा भने सर्वसम्मत कमिटी चयन गरिएको छ ।  

त्यस्तै त्रिवेणी गाउँपालिकामा यज्ञबहादुर विष्टको अध्यक्षतामा २१ सदस्यीय गाउँ कमिटी निर्माण गरिएको छ । जसको उपाध्यक्षमा नरबहादुर खड्का, सचिवमा खड्क पुन, उपसचिवमा गोपाल विष्ट र पुष्पा ओली चयन हुनुभएको छ । बाँफिकोट गाउँपालिकामा भूपलाल केसीको अध्यक्षतामा २५ सदस्यीय गाउँ कमिटी निर्माण गरिएको छ । जसको उपाध्यक्षमा वीरेन्द्र रिजाल, सचिवमा नीराजन दाहाल, उपसचिवमा मनप्रसाद शर्मा र सरिता पौडेल चयन हुनुभएको छ ।

आठबीसकोट नगरपालिकामा पनि निर्वाचन प्रक्रिया मार्फत दिनेश चन्दको अध्यक्षतामा ४९ सदस्यीय नगर कमिटी निर्माण गरिएको छ । चन्दले  ७९ मत ल्याएर नगर कमिटीको अध्यक्षमा विजयी हुँदा उहाँका प्रतिद्वन्दी नवराज मल्लले १२ मत प्राप्त  गर्नुभएको थियो । त्यस्तै उपाध्यक्षमा ६१ मत ल्याएर मानबहादुर पुरी विजयी बन्दा  प्रतिद्वन्दी धीरेन्द्रजंग शाहले २७ ल्याउनु भएको  थियो । सचिवमा ७३ मतका साथ देवीप्रसाद शर्मा विजयी  हुँदा उहाँका प्रतिद्वन्दी गोकर्ण शाहीले १४ मत प्राप्त  गर्नु भएको थियो ।

 उपसचिवमा हरिप्रसाद शर्मा र सोमिया मल्ल रहनुभएको छ । आठबिकोटमा अध्यक्ष, उपाध्यक्ष र सचिव पद निर्वाचन मार्फत चयन गरिएको थियो । उपसचिव सहित सदस्यहरू भने निर्विरोध चयन भएको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । 

त्यस्तै मुसिकोट नगरपालिकामा गोकर्ण  खड्काको अध्यक्षतामा ३९ सदस्यीय नगर कमिटी निर्माण गरिएको छ । जसको उपाध्यक्षमा तुलबहादुर खड्का, सचिवमा एकराज पाण्डे तथा उपसचिवमा हिमानी केसी थापा र अमरबहादुर खड्का चयन हुनुभएको छ । चौरजहारी नगरपालिकामा पनि अधिवेशन मार्फत नयाँ नगर कमिटी निर्माण गरिएको एमालेले जनाएको छ । एमालेका अनुसार अतिराम ओलीको अध्यक्षतामा ४९ सदस्यीय नगर कमिटी निर्माण गरिएको हो ।

जसको उपाध्यक्षमा कपिल विक, सचिवमा डिल्लीराज शर्मा, उपसचिवमा रिरुप्रसाद लामिछाने र सिता विक चयन भएको एमाले रुकुम पश्चिमले जनाएको छ । आइतबार नवनिर्वाचित अध्यक्ष खड्काको अध्यक्षतामा भएको सानीभेरी गाउँपालिकाको दोस्रो अधिवेशनमा नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य टङ्क ओलीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रदेश कमिटी सदस्य गणेश विक चिन्तन, जिल्ला अध्यक्ष नन्दराम देवकोटा  लगायतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update