Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा पनि मनाइयो गणतन्त्र दिवस 

रुकुम पश्चिममा पनि गणतन्त्र दिवस मनाइएको छ । जिल्ला सदरमुकाम मुसिकोटमा गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा प्रभातफेरि तथा मञ्चको कार्यक्रम आयोजना गरिएको थियो । खलङ्गाको कालिकास्थानबाट सुरु भएको प्रभातफेरि खलङ्गा बजार परिक्रममा गर्दै जिल्ला समन्वय समितिमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमले लामो सङ्घर्ष र ठुलो बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति सबै लाग्नुपर्ने बताउनुभयो । विभिन्न कारणले गणतन्त्र आएर के भयो र भन्नेहरू पनि रहेको भन्दै उहाँले गणतन्त्रको विकल्प अरू हुन नसक्ने बरु यसलाई सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । नतिजा मार्फत सङ्घीयता र गणतन्त्रका बारेमा प्रश्न गर्नेहरूलाई जवाफ फर्काउनु पर्ने उहाँको भनाई छ ।

DSC09210-1716877976.jpg
कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरू पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प अन्य हुनै नसक्नेमा एक मत थिए । तर जनतामा निराशा भने रहेको भन्दै यसलाई बेवास्ता गर्न नहुने उनीहरूको भनाई थियो । राज्य सञ्चालनको तहमा पुगेकाहरूको तौरतरिका फेरिनै पर्ने र जनताको निराशालाई हल गर्ने गरी काम हुनुपर्ने कार्यक्रमका वक्ताहरूले बताएका थिए । जिल्ला समन्वय समिति र मुसिकोट नगरपालिकाले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेका थिए ।

DSC09208-1716877979.jpg
मुसिकोट नगरपालिकाका उपप्रमुख विमलकुमार पुनको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर बिक, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, जिल्ला प्रहरी प्रमुख नवराज पोख्रेल, सशस्त्र प्रहरी प्रमुख सुमन लामिछाने, प्रमुख अनुसन्धान अधिकृत चिरञ्जीवी बुढा, नेपाली काँग्रेसका जिल्ला उप सभापति हर्कसिंह खत्री, नेकपा एमालेका अध्यक्ष नन्दराम देवकोटा, राष्ट्रिय जनमोर्चाका गिरीप्रसाद बुढा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन मुसिकोट नगरपालिकाका कानुन अधिकृत ललित बुढाले गर्नुभएको थियो । 

DSC09200-1716877985.jpg
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।

दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूमा दीपावलीलगायत कार्यक्रमहरू गरेर गणतन्त्र दिवस मनाउने निर्णय सरकारले गरेको छ ।

DSC09211-1716877976.jpg
DSC09207-1716877980.jpg

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update