बजारमा उपभोक्ता हित विपरित हुने गतिविधिहरुलाई न्यूनिकरण गर्नका लागि बेला बेलामा बजार अनुगमन गर्नुपर्छ । सरोकारावाला निकायहरुबाट चाडपर्वको समय र सदरमुकाम र आसपासका बजारमा मात्रै अनुगमन हुन्छ भन्ने गुणासो प्राय सुनिन्छ । तर रुकुम पूर्वमा भने यस दुर्गमका बजारमा पनि अनुगमन गरिएको छ ।
जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकामा बजार अनुगमन गरी करिब एक लाख मूल्य बराबरका अखाद्य वस्तुहरु नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व र घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा मंगलबार र बुधबार दुई दिन बजार अनुगमन गरी अखाद्य स्तुहरु नष्ट गरिएको हो ।
गाउँपालिकाको वडा नम्बर १३ नयाँ बजार, वडा नम्बर १० तक, वडा नम्बर ११ को उपल्लोसेरा, तल्लो सेरालगायतका बजारका ६० वटा पसलमा अनुगमन गरी म्याद गुज्रिएका सामग्रीहरु नष्ट गरिएको अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्र बुढा क्षेत्रीले जानकारी दिनुभयो ।
चाड पर्वको समयमा र सदरमुकाम आसपासका बजारमा मात्रै अनुगमन हुन्छ तर ग्रामिण भेगमा वास्ता गरिदैन भन्ने उपभोक्ताको गुनासोलाई सम्बोधन गरी दुर्गमका बजारमा पनि अनुगमन थालिएको उहाँले बताउनुभयो । जिल्लाका सबै बजारमा अनुगमन गरिने सहायक प्रजिअ बुढा क्षेत्रीले बताउनुभयो ।
म्याद नाघेका अखाद्य वस्तुहरु उपभोग गरेपछि उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर पर्ने भएकाले यस्ता सामग्रीहरु खरिद बिक्री नगर्न उहाँले व्यापारीहरुलाई अनुरोध समेत गर्नुभएको छ भने उपभोक्ताहरुलाई सचेत गराउनुभएको छ । बजार अनुगमनका क्रममा धेरै कैफियतहरु भेटिएका छन । अधिकांस होटल तथा पसलहरु दर्ता नभएको, नवीकरण नगरिएको, पाना नम्बर नल्याएको, मूल्य सूची नराखिएको, पसलहरु व्यवस्थित नभएको पाइएको छ ।
यस्तै होटलहरुमा सरसफाई नगरिएको, म्याद गुज्रिएका सामग्रीगरु राखिएको र मदिरा किराणा तथा अन्य पसल एउटै ठाउँमा राखिएको लगायतका कैफियत फेला पारिएको अनुगमन समितिले जनाएको छ । अनुगमनका क्रममा ग्रामिण भेगमा रहेका व्यवसायी र उपभोक्ताले मुख्यगरी जिल्लाका मुख्य नाकाहरुमै कडाई गर्नुपर्ने बताएका छन ।
गाउँसम्म साममग्री पुग्ने बेलासम्म त्यसको म्याद सकिने भएकाले पनि समस्या हुने गरेको उनिहरुको भनाई छ । घरेलुु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत ताराप्रसाद शर्माका अनुसार सबै व्यवसायिहरुलाई दर्ता प्रक्रियामा आउन निर्देशन समेत गरिएको छ । ग्रामिण भेगका उपभोक्ताहरुमा जनचेतनाको कमी भएकाले पनि अखाद्य वस्तुहरु उपभोग गर्न बाध्य छन त्यसैले बजार अनुगमनका साथै उपभोक्ता जागरण अभियान पनि सञ्चालन गरिएको छ ।
स्थानीय बजारमा हुने कालोबजारी, कृतिम अभाव सिर्जना, अखाद्य वस्तुहरु विक्रि वितरण लगायतका कार्यहरु रोक्न स्थानीय स्तरमा उपभोक्ता जागरण क्लब पनि गठन गरिएको उद्योग अधिकृत शर्माले जानकारी दिनुभयो । यसैबीच बजार अनुगमनका क्रममा १३ वटा पसल दर्ता र ६ वटा पसलहरुको नविकरण गरिएको रुकुमकोट जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रकाश मल्लले जानकारी दिनुभयो ।