रुकुम पश्चिमको जिल्ला सदरमुकाम समेत रहेको मुसीकोट नगरपालिका १ खलंगामा पानीको चरम अभाव भएको छ । विगत १ महिनादेखि जिल्ला सदरमुकाम खलंगा, बागबजार, सेरिगाउँ लगायत आसपासको क्षेत्रमा खानेपानीको चरम अभाव भएको हो । बैशाख महिनादखि नियमित खानेपानी नआउँदा पानीको समस्या झेल्नु परेको मुसीकोट नगरपालिका १ त्रिवेणी चोकमा केटु होटेल सञ्चालन गर्नुभएका उदिराम खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वैशाख महिना सुरु भएसँगै नियमित खानेपनी प्रयोग गर्न सकिएको छैन् । ‘‘पहिले हरेक दिन २ घण्टा साँझ विहान नियमित पानी आउँथो, करिव एक महिना भयो नियमित खानेपानी आएको छैन् । एक दिन विराएर १ घण्टा पानी आउँछ होटल चलाउन निकै समस्या भएको छ’’ खत्रीले भन्नुभयो । विहान १ घण्टा मात्रै पानी आउँदा होटेलमा जम्मा गर्न राखिएका भाडा समेत भरिदैन, दुई दिनसम्म १ घण्टा आएको पानी त कसरी पुग्छ भन्दै गुनासो गर्नुभयो । नियमित पानी नआँदा नजिकैको टटेला मुहानबाट पानी बोकेर गुजारा चलाउनु परेको उहाँले सुनाउनुभयो ।
खलंगामै एकान्त होटेल सञ्चालन गर्दै आउनुभएकी कान्ता ओलीकोले खानेपानीको समस्या निकै झेल्नु परिरहेको बताउनुभयो । ‘‘पहिलेको वर्ष पानीको यस्तो हाहाकार भएको थाहा भएन, यस पटक त निकै समस्या भएको छ । दिनमा एक घण्टा मात्रै पानी आउँछ । सबै भाडा भर्न पाईदैन । कहीले काँही त होटेलमा आउने ग्राहकलाई समेत दिने पानी हुँदैन’’ ओलीले भन्नुभयो । पानी अभाव हुँदा सहिदमार्ग नजिकै रहेको मुहानमा गएर पानी लिने गरेको उहाँ बताउनुभयो ।
होटल संचालन गर्ने व्यवसायिलाई मात्र खानेपानीको समस्या नभएर खलंगामा कोठा भाडा लिएर अध्यन गर्ने विद्यार्थीलाई समेत खानेपानिको समस्या हुने गरेको छ । एक दिन विराएर विहान मात्रै खानेपानी आउँदा नियमित सरसफाईमा समस्या हुन गरेको यमुना नन्द नमुना मावि कक्षा ९ मा अध्यनरत छात्र गंगा पुनले बताउनुभयो । कोठामा पानी जम्मा गर्ने भाडा नुहँदा समेत आफुलाई विहान भरेको पानीले दुई दिनसम्म नपुग्दा समस्या हुने गरेको उहाँको भनाई छ ।
यस अघिका वर्षमा वैशाख, जेठ महिनामा पानीको यति धेरै समस्या नभएको स्मरण गर्दै खानेपानीको समस्या बैशाख, जेठ पनि हुन नदिन मुहानको संरक्षण गरेर उपभोक्तालाई नियमित पानीको व्यवस्था मिलाउनुपर्ने मुसीकोट १ खलंगाकी अन्जना नकाल ओलीले बताउनुभयो । बैशाख जेठ महिनामा खानेपानीको समस्या हुँदा नजिकै मुहान भएका ठाउँमा पनि दिउँसो पालो नपाइने हँुदा रातीमा पानी भर्न जाने समस्या रहेको उहाँले बताउनुभयो । उपभोक्तालाई खानेपानी नियमितको लागि मुसीकोट नगरपालिका तथा मुसीकोट खानेपानी उपभोक्ता समितिले चासो देखाउनुपर्ने उहाँले बताउनुभयो ।
मुसीकोट खानेपानी सरसफाई उपभोक्ता समिति मार्फत हाल खलंगा, बागबजार, सेरिगाउँ र पिपलनेटा सहित १ हजार ७२ वढी उपभोक्ताले पानी प्रयोग गर्दै आएका छन् । यी सवै उपभोक्ताले अहिले नियमित पानी प्रयोग गर्न पाएका छैनन् । यस विषयमा मुसीकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिले भने चैतदेखि मुहान सुक्दै गएपछि उपभोक्तालाई नियमित पानी पुर्याउन नसिकएको स्विकार गर्छ । बजारबासीको लागि ३ लाख ५० हजार लिटर क्षमताको ट्यांकी निर्माण भएपनि हाल उक्त ट्यांकीमा दैनिकी १ लाख लिटर मात्र पानी जम्मा हुने गरेको मुसीकोट सरसफाई खानेपानी उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर नेपालीले जानकारी दिनुभयो ।
उहाँका अुसार ट्यांकीमा जम्मा भएको २० हजार लिटर पानी पाईपमा पुग्दासम्म सकिने र बाँकी रहेको ८० हजार लिटर पानी वितरण गर्ने गरिएको छ । उक्त पानी बजारबासीको लागि प्रर्याप्त नहुने उहाँले जानकारी दिनुभयो । पानी अभाव भएपछि एक दिन खलंगा सहितमैदान र पिपलनेटा र अर्को दिन बागबजार, सेरिगाउँ लगायतका ठाउँमा वितरण गर्ने गरिएको छ । पहिले नियमित साँझ र विहान पानी वितरण गर्ने गरिएकोमा अहिले एक दिन विराएर विहान १ घण्टा पानी वितरण गर्ने गरिएको अध्यक्ष नेपालीले जानकारी दिनुभयो ।
समितिले मुहानको संरक्षण गरेको उल्लेख गर्दै मुहान सुक्दै गएपछि खानेपानीको समस्या भएको बताउनुभयो । ‘‘मुहान नफुट्दासम्म बजारबासीले खानीपानीको समस्या झेल्नु पर्ने देखिन्छ । अहिले सम्म यसको लागि बैकल्पिक उपाय केही छैन्’’ उहाँले भन्नुभयो । वैशाख जेठमा पनि बाजारबासीलाई नियमित रुपमा पानी वितरण गर्न बैकल्पिक उपाय खोजिका बारेमा भने मुसीकोट नगरपालिका तथा मुसीकोट सरसफाई खानेपानी उपभोक्ता समितिले चासो देखाएको देखिदैन् ।