Kakhara सबैको खबर सम्पूर्ण खबर
पूर्व विद्यार्थी शर्माद्वारा पशुपति माविमा एक लाखको अक्षयकोष स्थापना 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ को पशुपति माविमा अक्षयकोष स्थापना गरिएको छ । पूर्व विद्यार्थी सिर्जना शर्माले विद्यालयमा एक लाख एक हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो । उहाँले यस विद्यालयमा लामो समय अध्यापन गराई सेवा निवृत्त हुनुभएका आफ्ना पिता नारायणप्रसाद शर्माको सम्मान र माता स्वर्गीय त्रिपुरादेवीको सम्झनामा अक्षयकोष स्थापना गर्नुभएको छ । विद्यालयको ५९ औँ वार्षिकोत्सवको अवसरमा अक्षयकोष स्थापना गरेको शर्माले बताउनुभयो ।

शर्माले सिनात्रि (सिर्जना, नारायण त्रिपुरा) अक्षयकोष २०८१ स्थापना गर्नुभएको विद्यालयले जनाएको छ । उक्त कोषबाट हरेक वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने एक एक जना छात्र, छात्रा र मुसिकोट नगरपालिका भित्रका उत्कृष्ट कार्यसम्पादन गर्ने एक जना शिक्षक वा शिक्षिकालाई अक्षयकोषको लाभांशबाट प्राप्त हुने रकम वितरण गरिने अक्षयकोष सञ्चालक शर्माले बताउनुभयो ।

अक्षयकोष बापतको रकम र अक्षयकोष सञ्चालन कार्यविधि विद्यालयका प्रधानाध्यापक घनश्याम बुढाथोकीलाई बुवा नारायणप्रसाद शर्माले हस्तान्तरण गर्नुभएको थियो । साथै पूर्व विद्यार्थी शर्माले ५० थान पुस्तक पनि हस्तान्तरण गरेको विद्यालयका शिक्षक दामोदर शर्माले जानकारी दिनुभयो । २०२२ सालमा स्थापना भएको पशुपति माविले विभिन्न कार्यक्रम गरी ५९ औँ वार्षिकोत्सव मनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update