Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा शनिबार साँझको हावाहुरीले विद्युत लाइन अवरुद्ध 
फाइल फोटो

रुकुम पश्चिममा शनिवार साँझ आएको हावाहुरीको कारण विद्युत लाइन अवरुद्ध भएको छ । विद्युत प्रशारण लाइनमा रुखहरु ढल्दा जिल्लामा विद्युत लाइन अवरुद्ध भएको हो । शनिबार साँझ ६/७ बजे तिर  अवरुद्ध भएको लाइन अहिलेसम्म सुचारु हुन सकेको छैन् । सल्यानको श्रीनगरदेखि रुकुम पश्चिमको धैरेनीचौरसम्म हावाहुरीका कारण १० देखि १२ ठाउँमा समस्या देखिएको विद्युत प्राधिकरण वितरण केन्द्र रुकुम पश्चिमका प्रमुख शिवजीप्रसाद शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार समस्या देखिएको स्थानमा विहानैदेखि मर्मतको लागि कर्मचारी परिचालन गरिएको छ । हावाहुरीका कारण पोल बाङगीएको, तार चुडिएको र लाइनमा रुखका हाँगाहरु  फसेकाले समस्या देखिएको छ । विद्युत लाइन जतिक्दो छिटो सुचारु गर्न आइतबार विहानै देखि ३० जना कर्मचारी परिचालन गरिएको प्रमुख शाहले जानकारी दिनुभयो ।

जिल्लामा रहेका ८ समुह मध्ये दुई समुह ३३ केभि प्रशारण लाइन श्रीनगरदेखि सिमाखोलीसम्म र अन्य ६ समुहलाई प्रत्येक पालिकामा पठाएको छ । सल्यानको श्रीनगरदेखि आउने र जाजरकोटको कुदुदेखि आउने दुबै लाइनमा समस्या आएपछि जिल्लामा विद्युत लाइन प्रशारण गर्न नसकिएको उहाँले जानकारी दिनुभयो । समस्या देखिको ठाउँमा मर्मत गरेर खलंगा, बागबजार र सेरिगाउँमा साँझसम्म फिडर सुचारु गरेर विद्युत सञ्चालन गर्ने अनुमान गरिपनि अन्य ठाउँमा भने विद्युत लाइन सुचारु हुन  केही समय लाग्ने विद्युत प्राधिकरण रुकुम पश्चिमले जनाएको छ ।

रुकुम पुर्वको धौलापहिरा हाइड्रोपावरबाट धैरेनीचौरमा आउने ५ मेगावट क्षमताको विद्युत लाइनमा समस्या देखिएपछि विगत १० दिनदेखि सञ्चालन हुन सकेको छैन् । शनिबार साँझबाट विद्युत लाइन अवरुद्ध हुँदा रुकुम पश्चिम र पुर्वका व्यवसायी तथा सर्वसाधारणलाई समस्या भएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update