रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ पिपलले चालु आर्थिक वर्ष २०७७/७८ मा ४ वटा सिचाई पक्कि नहर निर्माण गरेको छ । प्रदेश सरकारको बजेट मार्फत ३ वटा आयोजना र जलवायु परिवर्तन सहयोग कार्यक्रमको बजेट मार्फत एक वटा आयोजना निर्माण गरिएको हो ।
कर्णाली प्रदेश सरकारको पटक पटकको गरी ३० लाख रुपैयाँ बजेटबाट कैयारुख–बसिनिगैरा–काँक्रीबाङ–ठुलाखोला सिचाई आयोजनाको ८ सय मिटर पक्कि नहर निर्माण भएको छ । १० लाख रुपैयाँ बजेटमा छिप्राखोला– बसिनटाकुरा–पुर्णागाउँ–लामाचौर सिचाई आयोजनाको ३ सय ५० मिटर पक्कि नहर निर्माण भएको छ । ९ लाख रुपैयाँ बजेटमा पूमाखोला–जिउला–कृषि सिचाई आयोजनाको ३ सय मिटर पक्कि नहर निर्माण गरिएको हो ।
त्यस्तै जलवायु परिवर्तन कार्यक्रमको १७ लाख रुपैयाँ बजेट मार्फत साकुरे–दह–सिचाई आयोजनाको २ सय ८५ मिटर पक्कि सिचाई नहर निर्माण गरिएको वडा अध्यक्ष धनबहादुर खत्रीले जानकारी दिनुभयो । बाँकी अपुरा आयोजनाहरुलाई आउदो वर्षहरुमा पुरा गर्ने उहाँले बताउनुभयो । पक्कि नहर निर्माण भएसँगै किसानलाई सिचाई गर्न सहज भएको छ ।