Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट नगरपालिकामा तालाबन्दी गर्ने उपभोक्ताको चेतावनी 
प्रमुख प्रशासकीय अधिकृत माेहनप्रकाश गिरीलाई ज्ञापन पत्र बुझाउँदै संघर्ष समितिका संयोजक प्रकाश विक ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा तालाबन्दी गर्ने उपभोक्ताहरूले चेतावनी दिएका छन् । विभिन्न योजनाका उपभोक्ताहरूले गत आर्थिक वर्षमा सम्पन्न भएका योजनाको भुक्तानी नभएपछि नगरपालिकामा तालाबन्दी गर्ने चेतावनी दिएका हुन् । आइतबार प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरीलाई ज्ञापन पत्र बुझाउँदै जेठ २४ गतेभित्र रकम भुक्तानीको माग गरेका हुन् । ६ वटा वडाका ६ योजनाका उपभोक्ता समितिले संयुक्त रूपमा ज्ञापन पत्र बुझाउँदै तोकिएको समयमा भुक्तानी नभए सङ्घर्षका कार्यक्रम गर्ने चेतावनी दिएका हुन् ।

आर्थिक वर्ष २०७९/०८० मा दलित बस्ती विकास पूर्वाधार निर्माण शीर्षकमा ६ वटा वडामा विभिन्न काम सम्पन्न भएको तर अहिलेसम्म पनि रकम भुक्तानी नभएको सङ्घर्ष समितिका संयोजक प्रकाश विकले जानकारी दिनुभयो । उहाँका अनुसार सहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास आयोजना सुर्खेत मार्फत कार्यान्वयन हुने गरी मुसिकोट नगरपालिका वडा नम्बर १, २, ४, ७, १० र ११ नम्बर वडामा धारा निर्माण, खानेपानी ट्याङ्की निर्माण, गोरेटो बाटो निर्माण, खेलमैदान निर्माण लगायतका विभिन्न योजना सञ्चालन भएका थिए ।

प्रति वडा साढे ७ लाखका दरले योजना परेको र सोही अनुसार काम सम्पन्न भइसक्दा पनि रकम भुक्तानी नभएपछि बाध्य भएर सङ्घर्षका कार्यक्रम घोषणा गरेको विकले बताउनुभयो । पहिलो चरणमा जेठ २५ गते १० बजे देखि १२ बजेसम्म आंशिक रूपमा नगरपालिका बन्द गर्ने र दोस्रो चरणमा जेठ २६ गते देखि अनिश्चित कालका लागि पूर्ण रूपमा नगरपालिकामा तालाबन्दी गर्ने संयोजक विकले जानकारी दिनुभयो । २ वर्षसम्म ताकेता गर्दा पनि रकम भुक्तानी नभएपछि उपभोक्ता समितिले संयुक्त रूपमा सङ्घर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

नगर कार्यपालिका बैठकले चैत्र मसान्तसम्म उक्त योजनाहरूको रकम भुक्तानी गर्ने निर्णय गरे पनि हालसम्म रकम भुक्तानी हुन नसकेको उपभोक्ता समितिहरूको भनाई छ । काम हुँदा पनि रकम भुक्तानी नभएपछि गाउँमा बस्न सक्ने अवस्था नरहेको उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरूको भनाई छ । उधारोमा काम गरेको र दुई वर्षसम्म पनि रकम भुक्तानी हुन नसकेपछि साहुले हैरान बनाएको उनीहरूले बताएका छन् ।

नगरपालिकाले रकम व्यवस्थापनका लागि पहल भइरहेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरीले पुरानो बजेट रहेको र अब माथिबाट आउने सम्भावना नभएकोले नगरपालिकाले त्यसको व्यवस्था गर्ने गरी पहल भइरहेको उहाँको भनाई छ । ‘पुरानो बजेट भएकोले यसबारेमा मलाई धेरै जानकारी छैन, तर उपभोक्ताले काम गर्नुभएको छ, बजेट दिनै पर्ने छ, नगरपालिका लागि परेको छ, उहाँले भन्नुभयो–कुनै व्यवस्था गरेर रकमको व्यवस्थापन होला ।’ यो बजेट निकासका लागि नगरपालिकाले धेरै प्रयास गरे पनि हालसम्म सफल हुन नसकेको समेत उहाँले बताउनुभयो ।

WhatsApp-Image-2024-06-02-at-5.23.17-PM-1717332366.jpeg
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update