रुकुम पश्चिममा सुनको तिलहरी चोरी गर्ने एक जना र चोरी गरेको सुन खरिद गर्ने एक जना गरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुन चोरी गर्ने मुसिकोट १ सल्लेका एक व्यक्ती र चोरी गरेको सुन खरिद गर्ने खलङ्गा माथिल्लो बजारको वरुण सुन चाँदी पसलका सञ्चालक २९ वर्षीय सुरज खातीलाई प्रहरीले पक्राउ गरेको हो । चोरी गर्ने व्यक्तिको उमेर खुल्ने कागज नआइसकेकाले उमेर र नाम प्रहरीले खुलाएको छैन । उनी नाबालक रहेको आशङ्का गरिएको छ ।
चोरी गरेको २९ लालको तिलहरी वरुण सुनचाँदी पसलका सञ्चालक खातीले खरिद गरेको खुलेपछि खातीलाई शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार मुसिकोट नगरपालिका २ ज्यामिरेखोलाका धनिराम खड्काको घरबाट जेठ १६ गते सुन चोरी भएको निवेदन परेपछि अनुसन्धान गर्दै जाँदा सल्लेका एक व्यक्तिलाई शुक्रवार खलङ्गाबाटै प्रहरीले पक्राउ गरेको थियो । खड्काको घरबाट तिलहरी सहित सुनका सिक्री र नगद समेत चोरी भएको उजुरी परेको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएका दुवै जना माथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो ।