रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ ले गत वर्षभन्दा यस वर्ष दोब्बर बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा करिव २ लाख राजस्व संकलन गरेको वडाले चालु आर्थिक वर्षमा दोब्बर बढी अर्थात ५ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । यस वर्ष सबैभन्दा बढी राजस्व भुमिकर तथा मालपोतबाट १ लाख ९५ हजार ४ सय ५० रुपैयाँ र कम वहालकरबाट ८ सय ३४ रुपैयाँ संकलन भएको वडा अध्यक्ष टेकबहादुर पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्पतीकरबाट २ हजार २ सय ९, व्यक्तिगत घटना दर्ताबाट ३१ हजार ५ सय, सिफारिसबाट १ लाख ८ हजार ३ सय ५० र अन्य प्रशासनिक सेवाबाट १ लाख ६४ हजार ९ सय २५ रुपैयाँ गरेर वडाले जम्मा ५ लाख १८ हजार राजस्व संकलन गरेको हो ।
त्यस्तै वडाबाट गत साउनदेखि जेठ महिनासम्म ६४ वटा नागरिकता सिफारिस, ३ सय ९३ वटा विभिन्न किसिमका व्यक्तिगत घटना दर्ता गरिएको छ ।
चालु आर्थिक वर्ष सकिन केही समय बाँकी भएकाले अझै राजस्व बढ्ने वडाले अनुमान गरेको छ ।