१० वर्षपछि नेपालले विश्वकप खेल्दै छ । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको टी–२० विश्वकप क्रिकेटमा नेपालको यात्रा आजबाट सुरु हुँदै छ । यसअघि २०१४ मा बङ्गलादेशमा आयोजना भएको विश्वकप खेलेको नेपाल १० वर्षपछि विश्वकपका लागि छनोट भएको थियो । नेपालले आज पहिलो खेलमा नेदरल्याण्ड्ससंग खेल्दै विश्वकपको यात्रा सुरु गर्ने छ । समूह डि मा रहेका यी दुई बिचको खेल नेपाली समय अनुसार बेलुकी सवा ९ बजे अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा हुने छ । दुवै टोली जीतका साथ विश्वकप सुरु गर्न चाहन्छन् ।
हेड टु हेड
नेपाल र नेदरल्याण्ड्स विश्व क्रिकेटका चिर परिचित प्रतिद्धन्दि हुन । यी दुई टोलीको विश्वकपमा पहिलो पटक भेट हुन लागे पनि अन्य टी–२० खेलमा भने १२ पटक आमनेसामने भइसकेका छन् । जसमा दुवै टोलीबिचमा कडा प्रतिस्पर्धा भएको छ । हेड टु हेडमा नेदरल्याण्ड्स अघि देखिन्छ । उसले १२ मध्य ६ खेल जितेको छ भने नेपालले पाँच खेल जितेको छ । एक खेल भने वर्षाका कारण अवरुद्ध भएको थियो । नेपाल र नेदरल्याण्ड्स एसोसियट्स राष्ट्रमा बलियो टोली हुन । नेदरल्याण्ड्सले गतवर्ष भारतमा आयोजित एक दिवसीय विश्वकप खेलेको थियो । जहाँ उसले दक्षिण अफ्रिका र श्रीलङ्का जस्ता क्रिकेटका महारथीलाई हराएर सनसनी मच्चाएको थियो । नेपाल पनि पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको छ । कठिन अवस्थाबाट १२ मध्ये ११ खेल जित्दै नेपालले एक दिवसीय मान्यता जोगाउन सफल भएको थियो । यी दुई टोलीबिचमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
नेपालको सम्भावित प्लेइङ इलाभेन
कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), अनिल साह, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करन केसी, ललित राजवंशी, ११ अविनाश बोहरा÷सागर ढकाल ।
नेदरल्याड्सको सम्भावित प्लेइङ इलाभेन
म्याक्स ओ डोउड, मिचेल लेविट, बिक्रमजित सिंह, स्कट एडवार्डस (कप्तान÷विकेट किपर), तेजा निदमनुरु, बास डे लिड्स, स्याब्रण्ड एङ्ल्ब्रेच्त, लोगेन विन बीक, आर्यन दत्त, भौल वान मिक्रेन, विविअन किंमा ।
प्लेयर टु वाचः दीपेन्द्रसिंह ऐरी–माइकल लेविट
माइकल लेविटले गत वर्ष १९ वर्षको उमेरमा डेब्यु गरेका हुन । डेब्यु गरेदेखि उनी नेदरल्याण्ड्सका प्रमुख खेलाडी बनेका छन् । दक्षिण अफ्रिकामा जन्मेका लेविटले अहिलेसम्म ८ टी–२० इनिङ्समा ४३.६२ को औसत र १५६.५० को स्ट्राइक रेटमा ३४९ रन बनाएका छन् । उनले नामिबिया विरुद्ध मात्र ६२ बलमा १३५ रन बनाएर नेदरल्यान्ड्सको लागि आफ्नो दोस्रो टी–२० आइमा उच्च स्कोर बनाएका थिए । त्यस्तै उनले यसै विश्वकपको अभ्यास खेलमा श्रीलङ्का विरुद्ध २८ बलमा ५५ रन बनाउनुले पनि उनी कत्तिको फर्ममा छन भनेर बुझ्न सकिन्छ ।
गत वर्ष एसियाली खेलकुदमा मङ्गोलिया विरुद्ध मात्र ९ बलमा सबैभन्दा छिटो टी–२० आइ अर्ध शतक प्रहार गरेका दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उनले उच्च स्तरका टोलीहरू विरुद्ध पनि आफ्नो गुणस्तर देखाएका छन् । नेदरल्याण्ड्सलाई थाहा छ उनी कति महत्त्वपूर्ण खेलाडी हुन भनेर । यस वर्षको सुरुमा कीर्तिपुरमा नेदरल्याण्ड्सले नेपाललाई हराएको थियो । नेपाललाई २४ बलमा ५७ रन चाहिएको थियो, जब ऐरी विस्फोटक ब्याटिङ गरिरहेका थिए । उनले ३४ बलमा ६३ रन बनाएर नेपाललाई जितको ढोकामा पुर्याएका थिए । तर तीन बलमा चार रन आवश्यक रहेकोमा रोइलोफ भान डर मर्वेले उनलाई बोल्ड गरे र नेदरल्यान्ड्सले उक्त खेल दुई रनले जितेको थियो ।