Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपालमा टी–२० विश्वकप लाइभ मोबाइलमा कसरी हेर्ने ? 

यति बेला सबैको ध्यान अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजित टी–२० विश्वकप क्रिकेटमा छ । विश्वभरका करोडौँ क्रिकेट समर्थकहरू विश्वकपमा झुमिरहेका छन् । आफूलाई मन परेको टिमलाई समर्थन गरिरहेका छन् । आफूले समर्थन गरेको टिम पराजित भएमा धेरै नै दुःखी हुने र खानै छोड्ने सम्मका क्रेजी फ्यानहरू पनि छन् । कतिले आफूले समर्थन गरेको टिमले जितोस् भनेर भाकल समेत गर्ने गर्छन् । जे होस विश्वभरमा क्रिकेटका क्रेजी समर्थकहरू छन् ।

पछिल्लो समय नेपालमा क्रिकेटको लोकप्रियताले आकाश चुमेको छ । क्रिकेट पछ्याउनेको सङ्ख्या नेपालमा दिन प्रतिदिन बढ्दै गइरहेको छ । यो पटक त झन् नेपाल आफैले विश्वकप खेल्दै छ । यस्तोमा त झन् नेपालमा विश्वकप पछ्याउनेको कमी हुने त कुरै भएन । नेपालले खेल्ने हरेक खेलका लागि भोक र निन्द्रा वा आफ्नो दैनिक नियमित काम नभनी क्रिकेट मैदान देखि घरमै बसेर टिभी वा मोबाइलमा खेल हेर्नेहरू क्रिकेट पारखीहरूको कमी छैन ।

कति त कामकै बिचमा पनि मोबाइलमा नेपालले खेल्ने खेल छुटाउँदैनन् । सबै खेलको लाइभ हुँदैन । तै पनि नेपाली समर्थक नेपालले खेल्ने हरेक खेल खोतलेर पत्ता लगाउँछन् । अहिले त झन् विश्वकप नै चलिरहेको छ । विश्वकप छाड्ने त झन् कुरै भएन ! टेलिभिजन सेटमा सजिलै स्टार स्पोर्ट च्यानलमा विश्वकप क्रिकेटका खेलहरू देख्न सकिने भए पनि मोबाइलमा हेर्न भने सहज छैन ।

किन कि विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने अधिकार ठुलो रकममा किनबेच भएका कारण मोबाइल वा इन्टरनेटमा सहज तरिकाले विश्वकपको लाइभ स्ट्रिमिङ पाउन मुस्किल छ । तर मोबाइलमै पनि विभिन्न तरिकाले विश्वकप क्रिकेट हेर्न सकिन्छ । आज हामी तपाईँलाई यसबारेमा जानकारी गराउँदै छौँ । 

आइसीसी टिभी (ICC TV)
यो अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको आधिकारिक मोबाइल एप हो । तर यसलाई अहिले आइसीसीले नाम परिवर्तन गरेर आइसीसी मेन्स टी २० विश्व कप (ICC Men's T20 World Cup) बनाएको छ । तपाई आफ्नो स्मार्ट फोनको गुगल प्ले स्टोरमा गई यो एप निःशुल्क रुपमा डाउनलोड गर्न सक्नुहुन्छ । लाइभ हेर्नका लागि रजिष्टर गर्नुपर्ने हुन्छ । गुगल वा फेसबुक मार्फत लगइन गर्न सकिन्छ । खेल भइरहेको समयमा सुरुमै कुन टिमको खेल भइरहेको छ भनेर देखाउँछ र लाइभ लेखेको ठाउँमा क्लिक गरेर मोबाइलमै विश्वकपका खेलहरु हेर्न सकिन्छ । त्यसपछि लगइनको अप्सन आउँछ । त्यसमा आवश्यक प्रक्रिया पुरा गरेपछि सजिलै खेल हेर्न सकिन्छ । यसका अलावा आइसीसीको बेवसाइटमा पनि लाइभ हेर्न सकिन्छ । 

Live-Method-1717502092.jpg
याे एप मार्फत लाइभ हेर्न सकिन्छ ।

यसबाहेक पनि अन्य विभिन्न माध्यमबाट मोबाइलमा लाइभ हेर्न सकिन्छ । हटस्टार र डिज्नी प्लसमा पनि लाइभ हेर्न सकिन्छ । भारतमा पूर्ण रूपमा निःशुल्क भए पनि नेपालमा भने केही प्रक्रिया पुरा गर्नुपर्छ । त्यस्तै अन्य विभिन्न माध्यमहरू पनि छन् । जुन गैर कानुनी भएकोले यहाँ उल्लेख गरिएको छैन ।        

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update