पत्रकार महासंघ शाखा रुकुम पश्चिमको स्मारिका २०८१ विमोचन गरिएको छ । बुधबार मुसीकोट नगरपालिकाका नगरप्रमुख महेन्द्र केसीले शाखाले प्रकाशन गरेको स्मारिका २०८१ विमोचन गर्नुभएको हो । महासंघले प्रकाशन गरेको स्मारिका विमोचन गर्दै नगर प्रमुख केसीले पत्रकार महासंघ रुकुम शाखाले गरेका गतिविधि सहितको स्मारिका प्रकाशन गर्नु सह्रानिय पक्ष भएको बताउनुभयो । नगरपालिकाको तर्फबाट पत्रकार महासंघ शाखालाई सहयोग गर्दै आएको र आवश्कता परेमा आगामि दिनहरुमा पनि नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो ।
विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाको सहयोगमा ५ सय प्रति स्मारिका प्रकाशन गरिएको पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । उहाँका अनुसार ५ सय प्रति स्मारिका छपाईमा करिव १ लाख रुपैयाँ खर्च लागेको छ ।स्मारिकामा पत्रकार महासंघ शाखाले गरेका विभिन्न गतिविधि, पत्रकार तथा अन्य व्यक्तिहरुको लेख, २०६० सालदेखि हालसम्म शाखाम आवद्ध कार्यसमिति, जिल्लामा सञ्चालनमा रहेका रेडियो, अनलाइन, क्रियाशिल पत्रकारहरुको विवरण, सरकारी कार्यालयहरुको सूचना तथा विज्ञापन समेत स्मारिकामा समेटिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।
स्मारिकाको व्यक्तिगत मुल्य ३ सय र संस्थागत मुल्य ७ सय तोकिएको छ । पत्रकार महासंघ शाखा रुकुम पश्चिमले यस अघिपनि आठबीसकोट नगरपालिकाको सहयोगमा जिल्ला स्थित सञ्चार संस्था, सञ्चारकर्मी, सरकारी तथा गैर सरकारी कार्यालय, जनप्रतिनिधि, राजनितिक दल, एम्बुलेन्स लगायतको विवरण समावेश गरेर मिडिया डायरी प्रकाशन गरेको थियो ।