रुकुम पश्चिममा पहिलो पटक कम्प्युटरबाट आँखाको मोतीबिन्दुको शल्यक्रिया गरिएको छ । जिल्लामा यसअघि हातबाट अप्रेसन हुने गरेकामा पहिलो पटक कम्प्युटरबाट पनि आँखाको मोतीबिन्दुको अप्रेसन भएको हो ।
राप्ती आँखा अस्पताल तुलसीपुरको प्राविधिक सहयोग, नेपाल नेत्र ज्योति सङ्घ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको ५० प्रतिशत आर्थिक सहयोग र स्वास्थ्य सेवा कार्यालयको पहलमा रुकुम आँखा सर्किजल सेन्टरले शिविर आयोजना गरेको हो ।
शुक्रवार रुकुम आँखा सर्किजल सेन्टर सल्लेमा सञ्चालित शिविरमा कुल ६४ जनाको शल्यक्रिया भएको छ । जसमा ६१ जनाको मोतीबिन्दुको शल्यक्रिया गरिएकामा ३ जनाको मासु पलाएको शल्यक्रिया गरिएको रुकुम आँखा सर्किजल सेन्टरका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार २१ जनाको कम्प्युटरबाट मोतीबिन्दुको शल्यक्रिया गरिएको हो भने ४१ जनाको हातबाट गरिएको हो । हातबाट शल्यक्रिया गर्नेहरूको निःशुल्क र कम्प्युटरबाट गर्नेहरूले पाँच हजार शुल्क बुझाएको बताइएको छ । त्यस्तै १ सय ६१ जनाको निःशुल्क आँखा जाँच समेत गरिएको छ ।
शल्यक्रियामा राप्ती आँखा अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट भित्रो रेटिना सर्जन डाक्टर सन्तोष सुवेदीको नेतृत्वमा १६ जनाको टोली खटिएको थियो । जिल्लामा लामो समय देखि हातबाट मोतीबिन्दु लगायतको शल्यक्रिया गर्ने गरिएकामा कम्प्युटरबाट भने पहिलो पटक शल्यक्रिया गरिएको प्रमुख केसीले बताउनुभयो ।
कम्प्युटरबाट शल्यक्रिया गर्दा कम जोखिम र छिटो छरितो हुनुका साथै घाउ सानो हुने, छिटो निको हुने र दुखाई कम हुने उहाँको भनाई छ । कम्प्युटरबाट शल्यक्रियाका लागि आवश्यक सामग्री भने राप्ती आँखा अस्पताल तुलसीपुरबाट ल्याइएको थियो ।
अर्को शल्यक्रिया एक महिनापछि सञ्चालन हुने र आवश्यकताका आधारमा नियमित रूपमा शल्यक्रिया सञ्चालन हुने रुकुम आँखा सर्किजल सेन्टरका प्रमुख केसीले बताउनुभयो । स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर सुशील पोख्रेलको सक्रियता पछिल्लो एक वर्षदेखि आँखाको मोतीबिन्दु, आँखामा मासु पलाएको लगायतको शल्यक्रिया भइरहेको छ ।