रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ दाङचुङमा एक घरमा आगलागी भएको छ । आइतबार राती दलबहादुर बोहराको दुई तले घरमा आगलागी भएको हो । आगलागीबाट बोहराको घरमा पूर्ण रूपमा क्षती भएको वडा अध्यक्ष सुन्दर ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आइबार राती भैंसीलाई किराबाट जोगाउन आगो बालेको बेला गँहुको नलबाट आगो सल्किदा घरमा आगलागी भएको हो । आगलागीबाट बोहराको घरमा भएको नगद २ लाख, १ तोला सुन, लत्ताकपडा, अन्नपात, ३० किलो घ्यू लगायत गरि १२ लाख बराबरको क्षती भएको वडा अध्यक्ष ओलीले जानकारी दिनुभयो ।
त्यस्तै घरमा रहेको एउटा भैँसी पनि जलेको बताइएको छ । घर पुर्णरुपमा क्षति भएपछि बोहराको दुई जनाको परिवार अस्थायी आवासमा बसिरहुनु भएको छ । बोहराका दुई छोरा बैदेशिक रोजगारीमा हुनुहुन्छ । बोहराको परिवारलाई तत्कालको लागि वडाले राहत स्वरुप कम्बल उपलब्ध बनाएको छ । वडामा बजेट नरहेकाले पीडित परिवारको सहयोगको लागि गाउँपालिका तथा अन्य सहयोगी संस्थाहरुलाई अनुरोध गर्ने वडा अध्यक्ष ओलीले जानकारी दिनुभयो ।