रुकुम पूर्व र पश्चिम लगायतका मगर बाहुल्य ठाउँमा भूमे पूजाको रौनक छ । एक महिना अघि देखि नै गाउँ गाउँमा जम्मा भएर भूमे नाच नाचिरहेका मगर समुदायले आज र भोली भने भूमे पूजा अर्थात् भूमिको पूजाआजा गर्ने गर्छन् । ठाउँ अनुसार फरक फरक समयमा भूमे पूजा गर्ने गरिन्छ । मगरका जेठा राजा बसेका ठाउँमा जेठ मसान्त र कान्छा राजा बजेका ठाउँमा भने असार १ गते भेडाको बलि दिएर भूमे पूजा गर्ने प्रचलन रहेको छ ।
त्यस कारण ठाउँ अनुसार कतै जेठ मसान्त अर्थात् आज भूमे पूजा गरिएको र केही ठाउँमा भने भोली असार १ गते भूमे पूजा हुने रुकुम पूर्वको भूमे गाउँपालिकाका पूर्व अध्यक्ष रामसुर बुढाले जानकारी दिनुभयो । काँक्री लगायतका गाउँमा आज भूमे पूजा गरिएको उहाँको भनाई छ । पूजाको अघिल्लो दिन लेकमा गएर फूल टिपेर ल्याउने प्रचलन छ । गाउँका सबै जना जम्मा भएर लेकमा गएर बास बस्ने, त्यहाँ धजा चढाई पूजा गर्ने र अर्को दिन फूल टिपेर गाउँ पुगेपछि बलि दिएर पूजाआजा गर्ने गरिन्छ । फूल टिप्न गएको टोली गाउँ नफिर्किँदासम्म पूजाआजा गर्न नमिल्ने पूर्व अध्यक्ष बुढाले बताउनुभयो ।
उहाँका अनुसार पूजाआजा पछि सबै जम्मा भएर बलि चढाएको मासु प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ । गाउँमा रहेको राकुलीमा पूजाआजा सहित बलि दिने गरिन्छ । भूमे पूजा प्रकृति पूजकका रूपमा रहेका मगरहरूको प्रमुख चाड हो । जमिनलाई पूजाआजा गरेमा विपत्ति नआउने र मानिसलाई दुःख नपर्ने विश्वास मगर समुदायमा छ । भूमिको पूजा गरेमा बाढी, पहिरो, असिना लगायतको विपत्ति नआउने जन विश्वास छ । बर्खा लाग्नु अघि यस्ता विपत्ति नआउनु भनेर कामना गर्दै पूजाआजा गरिन्छ ।
खेती किसानी गर्ने परम्परागत पेसा अँगालेका मगर समुदाय वन, जङ्गल छेउछाउ बसोबास गर्ने भएकाले प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपत्ति नहोस् भन्ने उद्देश्यले भूमे पूजा गर्ने गरिएको हो । भूमे पूजाको अवसरमा विभिन्न सांस्कृतिक लगायत कार्यक्रम समेत आयोजना गर्ने गरिन्छ । भूमे पूजाको मुख्य आकर्षणका रूपमा भूमे नाच रहेको छ । परम्परागत भेष भूषामा सजिएर लहरै लागेर नाचिने यो नाच आकर्षक हुन्छ ।।