Kakhara सबैको खबर सम्पूर्ण खबर
कविता: जीवन

जीवन सुन्दर बगैंचाको फूल मात्र होइन,
संघर्षको तीखो काँडा पनि हो ।
जीवन कर्कलाको पातको पानी मात्र होइन,
सुन्दर बिहानीको चिसो सिरेटो पनि हो ।
जीवन विगतको धरातल मात्र होइन,
वर्तमानको सच्चा भोगाइ पनि हो ।
जीवन भविष्यको सुदूर रेखा मात्र होइन,
वर्तमानको भोगाइलाई रङग्याउनु पनि हो ।
जीवन अभावमा बाँच्नु मात्रै होइन,
खुशीका बहारहरुमा रमाउनु पनि त हो ।
जीवन निराशाको त्यान्द्रो मात्र होइन,
आशाका नवीन किरणहरुको खोजी पनि हो ।
जीवन आलोचनाहरुको सोच मात्र होइन,
सकारात्मक सोचहरुको खोजी पनि त हो ।
जीवन सारहरुको अपन्त्व मात्र होइन,
सारहीन तथ्यहरुको नवीन खोजी कार्य पनि हो ।
जीवन हार मात्रै होइन,
आँसुको बीचबाटै विजयको यात्रा प्रारम्भ पनि हो ।
जीवन आफ्नो खोजी गर्नु मात्र होइन,
हराएका अक्षर र घुम्तीहरुको खोजी गर्नु पनि हो ।
जीवन अन्धकार मात्र होइन,
भावी आशाको उज्यालो पनि त हो ।
जीवन उकाली,ओराली र देउराली मात्र होइन,
मरेर बाँच,बाँचेर नमरको सत् दर्शन पनि हो ।

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update