Kakhara सबैको खबर सम्पूर्ण खबर

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट प्रस्तुतु गर्नुभएको हो । कुल बजेटमध्ये चालु तर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात् २४.१२ प्रतिशत रहेको छ ।

त्यस्तै पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात् ६९.७ प्रतिशत बजेट विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापनतर्फ २५ करोड र स्थानीय तह वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८३ करोड ३५ लाख ८१ हजार बजेट विनियोजन गरेको मन्त्री केसीले बताउनुभयो । आगामी आर्थिक वर्षका लागि राजश्व सङ्कलनको लक्ष्य ८३ करोड ४४ लाख ६५ हजार राखिएको छ ।

चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि घटाएर बजेट ल्याइएको छ । प्रदेश सरकारले चालु वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको थियो ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि १० अर्ब ४६ करोड विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री केसीले बताउनुभयो । यस्तै सामाजिक विकास मन्त्रालयका लागि ५ अर्ब ७२ करोड विनियोजन गरिएको छ । 

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका लागि २ अर्ब ८६ करोड रकम विनियोजन गरिएकामा कानुन मन्त्रालयलाई २९ करोड ६४ लाख विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ । भूमि, व्यवस्था, कृषि मन्त्रालयका लागि १ अर्ब ८६ करोड बजेट विनियोजन गरिएको छ । 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि १ अर्ब ९४ करोड विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री केसीले बताउनुभयो । 

उहाँका अनुसार आगामी वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वबाट ८३ करोड ४४ लाख ६५ हजार, चालु आर्थिक वर्षको खर्च नभई बचत हुने अनुमानित रकम ५ अर्व १३ करोड ८१ लख २६ हजार, संघीय सरकारबाट राजस्व बाँडफाँड वापत प्राप्त हुने ९ अर्व ३८ करोड ५३ लाख, वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्व ३६ करोड ६३ लाख र सशर्त अनुदानबाट ३ अर्ब ७१ करोड ५० लाख परिचालन गरिने छ । 

यसका साथै संघीय सरकारबाट प्राप्त हुने समपूरक अनुदान तर्फ १ अर्व २८ करोड ५० लाख, विशेष अनुदानतर्फ ६७ करोड २५ लाख, संघीय सरकारबाटै सशर्त अनुदानमा प्राप्त हुने वैदेशिक सहायता वाहेक अन्य वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रम कार्यान्वयनका लागि १ करोड ३३ लाख ५० हजार स्रोत परिचालन गरिने उल्लेख छ ।

बजेटकाे पूर्ण पाठ हेर्नुहाेस 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update