गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य र शिक्षण संस्थाका भौतिक संरचना पुनर्निर्माणका लागि कर्णाली प्रदेश सरकारले ५० करोड बजेट विनियोजन गरेको छ ।
मुख्य गरी जाजरकोट र रुकुम पश्चिम तथा अन्य जिल्लामा भूकम्पले क्षतिग्रस्त स्वास्थ्य संस्था तथा शिक्षण संस्थाका भौतिक संरचना पुनर्निर्माणका लागि ५० करोड बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले जानकारी गराउनुभयो ।
त्यस्तै उक्त भूकम्पले क्षतिग्रस्त सरकारी संरचनाको पुनर्निर्माणका लागि पनि आवश्यक बजेटको व्यवस्थापन गरेको उहाँले बताउनुभयो । तर रकम भने उल्लेख गरिएको छैन ।
जाजरकोट भूकम्पले जाजरकोट र रुकुम पश्चिमका अधिकांश विद्यालय तथा स्वास्थ्य संस्थाका भौतिक संरचनामा ठुलो क्षति गरेको छ । सल्यानका केही ठाउँमा समेत क्षति पुगेको छ । जसका कारण अस्थायी सिकाई केन्द्रमा पठन पाठन भइरहेको छ भने केही ठाउँमा टेन्टबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको छ ।