रुकुम पश्चिमका एक युवकको भारतको जम्मु काश्मीरमा हिउँमा पुरिएर मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ८ घोर्खानीका ३४ वर्षीय कमल थापाको वैदेशिक रोजगारीका लागि भारतको लद्दाख जाने क्रममा जम्मु काश्मीरमा हिउँमा पुरिएर मृत्यु भएको हो ।
थापा लद्दाख जाँदै गरेको अवस्थामा डेढ महिना अघि स्थानीय सोनामार्क बजारबाट सम्पर्क विहीन हुनुभएको थियो । भारी हिमपात भएपछि उहाँ सोनामार्क भन्ने ठाउँमा फर्किएको र सोही ठाउँबाट बेपत्ता भएको भन्दै घर परिवारलाई खबर आएको थियो ।
बेपत्ता भएपछि साथी भाइले खोजी गरेका थिए । तर उहाँ हराएको भनिएको ठाउँबाट करिब १० किलोमिटर टाढाको दुरीमा हिउँले परिएको अवस्थामा फेला परेको बताइएको छ । उहाँको भारतको श्रीनगरमा अन्त्येष्टि गरिएको छ । मृत्युको खबर पाएपछि गाउँबाट आफन्तहरू भारत गएका थिए । थापाका श्रीमती, एक छोरा र छोरी रहेका छन् ।