नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चा रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोटमा वितरण भएको खानेपानीको महसुल घटाउन माग गरेको छ । आज मुसिकोट खलङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा ज्ञापन पत्र बुझाउँदै मोर्चाले खानेपानीको महसुल घटाउन माग गरेको हो । त्यस्तै मोर्चाले खानेपानी नियमित गर्न पनि माग गरेको छ ।
चर्को महसुल उठाएको र धारामा नियमित रूपले पानी नआएको कारण आफूहरूलाई ठुलो मर्का परिरहेको भन्ने गुनासो उपभोक्ताहरूले मोर्चा समक्ष निरन्तर गरिरहेकोले महसुल घटाएर खानेपानी सर्वसुलभ र नियमित बनाउन जोडदार मागसहित ज्ञापन पत्र बुझाइएको मोर्चाका संयोजक एवं नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो । महसुल घटाउने र खानेपानी नियमित गर्ने गराउने प्रक्रियामा कुनै किसिमको सहजीकरण वा अन्य सहयोग आवश्यक परेमा त्यसको लागि मोर्चा तयार रहेको पनि उहाँले बताउनुभयो ।
यसमा सुनुवाइ नभए कडा सङ्घर्षमा जाने समेत मोर्चाले चेतावनी दिएको छ । संयोजक रोका, नेकपा एसका जिल्ला सचिव सुरज परियार, नेकपाका जिल्ला इन्चार्ज चन्द्र बुढाले मुसिकोट खलङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष टोपबहादुर विकलाई ज्ञापन पत्र बुझाउनुभएको हो । ज्ञापन पत्र बुझ्दै अध्यक्ष विकले संस्थासँग ठुलो ऋण रहेकोले संस्थाको तर्फबाट महसुल घटाउने सम्भावना नभए पनि यसका लागि मुसिकोट नगर विकास समिति, मुसिकोट नगरपालिका लगायतका निकायसँग छलफल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
खानेपानी नियमित गराउने विषयमा भने संस्था गम्भीर रहेको उहाँले बताउनुभयो । स्थानीयवासीको अवरोधका कारण आवश्यकता अनुसार मुहानबाट पानी ल्याउन नसकिएकोले नियमित खानेपानी वितरण गर्न समस्या भइरहेको उहाँको भनाई थियो । यसतर्फ संस्थाले सम्पूर्ण ध्यान केन्द्रित गरेको जवाफ उहाँले दिनुभयो ।
समाजवादी मोर्चाले यसअघि मुसिकोट नगरपालिका ११ र १२ जोड्ने पितिवाङ खोला पुल निर्माणका लागि दबाब सिर्जना गर्न विभिन्न सङ्घर्षका कार्यक्रम सञ्चालन गरेको थियो । यसको दबाब स्वरूप सडक डिभिजन कार्यालयले उक्त पुलको ठेक्का तोड्ने प्रक्रिया थालेको छ । मोर्चाले विभिन्न जनसरोकारका विषय उठान गर्ने क्रममा मुसिकोटको खानेपानी सर्वसुलभ र नियमित बनाउन दबाब दिन सुरु गरेको मोर्चाले बताएको छ ।