Kakhara सबैको खबर सम्पूर्ण खबर
भूकम्पपछिको राहत र परिपूरणमा उल्लेख्य काम गरेको भन्दै रेडक्रसको प्रशंसा 

गत कार्तिक १७ गतेको जाजरकोट भूकम्पपछिको उद्धार, राहत र परिपूरणमा नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमले उल्लेख्य काम गरेको भन्दै सरोकारवालाले प्रशंसा गरेका छन् । रेडक्रसद्वारा जिल्लाका भूकम्प प्रभावित क्षेत्रमा सञ्चालित कर्णाली भूकम्प प्रतिकार्य कार्यक्रमको समीक्षामा सहभागी सरोकारवालाहरूले रेडक्रसले भूकम्पको बेलामा प्रशंसनीय काम गरेको भन्दै प्रशंसा गरेका हुन् ।

जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमले भयावह अवस्थामा रेडक्रसको सहयोग अतुलनीय रहेको बताउनुभयो । भूकम्प गए लगत्तै जिल्लास्थित सबै सरोकारवाला उद्धारमा खटिएको स्मरण गर्दै उहाँले राहतका सामग्री लिएर सबैभन्दा पहिला रेडक्रस गएकोले धेरै सहज भएको बताउनुभयो ।

सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टले रेडक्रसका कारण तत्कालीन परिपूरणमा सहयोग पुगेको बताउनुभयो । कुनै पनि निकाय नपुग्दै रेडक्रस भूकम्प प्रभावित क्षेत्रमा पुगेको र तत्कालीन व्यवस्थापन देखि त्यसपछिको व्यवस्थापनमा रेडक्रसले उल्लेखनीय काम गरेको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।

त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले रेडक्रसका कारण गाउँपालिकालाई ठुलो सहयोग पुगेको बताउनुभयो । पालिकामा ठुलो स्रोत नभएको अवस्थामा रेडक्रसले अस्थायी आवास देखि खानेपानी ट्याङ्की र शौचालयको व्यवस्थापनसम्मका काम गरेकोले निकै सहज भएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले रेडक्रस विपत्तिका बेलामा काम गर्ने प्रमुख संस्था रहेको र यसले रुकुम पश्चिममा भूकम्प प्रभावितका लागि महत्त्वपूर्ण काम गरेको बताउनुभयो । राहत व्यवस्थापन देखि भूकम्प प्रभावितलाई सामान्य अवस्थामा फर्काउन रेडक्रसले मसिनो तरिकाले काम गरिरहेको आफूले पाएको उहाँले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमका सभापति रमा गौतमले आफूहरूसँग कुनै स्रोत साधन नहुँदा नहुँदै पनि स्रोत जुटाएर खटिएको बताउनुभयो । जिल्लास्थित सबै सरोकारवाला निकायको सहयोगमा रेडक्रसले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र परिपूरणका लागि राम्ररी काम गर्न सकेको बताउनुभयो । 

DSC09407-1718627735.JPG
भूकम्प लगत्तै नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमले जिल्लाका भूकम्प प्रभावित क्षेत्रमा कर्णाली भूकम्प प्रतिकार्य कार्यक्रम लागु गरेको थियो । सानीभेरी गाउँपालिका वडा नम्बर ४ तथा त्रिवेणी गाउँपालिका वडा नम्बर ९ र १० मा यस कार्यक्रम अन्तर्गत २ सय ५० वटा अस्थायी आवास निर्माण भएका छन् । यी सबै घरमा खानेपानी ट्याङ्की र शौचालयको समेत व्यवस्था गरिएको छ । त्यस्तै दुई पालिकाका ३ वडाका एक हजार ६ सय ९२ जना भूकम्प प्रभावितलाई तत्कालीन परिपूरणका लागि प्रति परिवार १५ हजारका दरले बहुउद्देश्यीय नगद सहयोग गरिएको रेडक्रसका कार्यक्रम संयोजक सरोज थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसै कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री प्रदान गरिनुका साथै ७ वटा खानेपानी आयोजना मर्मतको काम भएको छ । अन्तर्राष्ट्रिय रेडक्रस सङ्घ, ब्रिटिस रेडक्रस, अमेरिकन रेडक्रस, डेनिस रेडक्रस, स्विस रेडक्रस र युएनएफपीएको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो । 

हालसम्म कर्णाली भूकम्प प्रतिकार्य कार्यक्रम सञ्चालन भएका अब देखि भने कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रम सञ्चालन हुने कार्यक्रम संयोजक थापाले जानकारी दिनुभयो । हाल कार्यक्रम सञ्चालन भएकै सानीभेरी ४ तथा त्रिवेणी ९ र १० मै याे कार्यक्रम चल्ने छ । यस अन्तर्गत ७ वटा क्षेत्रमा काम हुने बताइएको छ ।

जसमा आवास, जीविकोपार्जन, स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्वच्छता, सामुदायिक संलग्नता तथा जबाफदेहिता, संरक्षण, लैङ्गिक र समावेशीकरण, शिक्षण, योजना, अनुगमन, मूल्याङ्कन प्रतिवेदन, विपद् जोखिम व्यवस्थापन, राष्ट्रिय सोसाइटी विकास र प्रशासनिक, बन्दोवस्ती, मानवीय संसाधन, अनुगमन रहेको थापाको भनाई छ । यसका लागि ५ करोड १६ लाख ७९ हजार ८ सय ७० रुपैयाँ खर्च हुने बताइएको छ । 

कार्यक्रममा कर्णाली भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत भएका गतिविधि र अब सञ्चालन हुन लागेको कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रमका बारेमा रेडक्रसका योजना, अनुगमन, मूल्याङ्कन तथा प्रतिवेदन अधिकृत शैलेश श्रेष्ठले जानकारी गराउनुभएको थियो भने कार्यक्रममा उठेका प्रश्न र जिज्ञासामाथि कार्यक्रम संयोजक सरोज थापाले स्पष्ट पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन रेडक्रस रुकुम पश्चिमका मन्त्री बलिबर पुनले गर्नुभएकाे थियाे ।  

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update