Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोटमा कोभिड आकष्मिक अस्पताल
स्यार्पू बहुमुखि क्याम्पसका भवन ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा कोरोना भाइरस संक्रमित विरामीका लागि आकष्मिक अस्पताल बन्ने भएको छ । स्यार्पू बहुमुखि क्याम्पसलाई कोभिड आकष्मिक अस्पताल बनाउने निर्णय गाउँ कार्यपालिकाले गरेको छ । अस्पताले १५ बेडको हुने छ । लक्षण सहितका कोरोना संक्रमितको उपचारका लागि हाललाई क्याम्पसमा नै व्यवस्थापन गर्न थालिएको छ ।

निर्णयपछि अस्पतालका लागि आश्यक बेड, औषधी, अक्सिजन खरिद प्रक्रिया सुरु भएको छ । जनशक्ति व्यवस्थापनको काम थालिएको छ । अस्पतालमा १५ वटा अक्सिजनका सिलिन्डर राखिने छ । यसैगरी कोरोना संक्रमितका लागि आवश्यक औषधी र उपकरण राख्ने काम थालिएको गाउँपालिकाले जनाएको छ ।

अस्पतालका लागि १ एमबीबीएस डाक्टर, ३ जना स्टाफ नर्स लगायत आवश्यक  जनशक्ति व्यवस्थापनमा लागिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो । अस्पताल व्यवस्थापन र सामग्री खरिदको जिम्मा स्वास्थ्य समिति तथा शाखालाई दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले बताउनुभयो । 

कोरोनाको दोस्रो चरण सुरु भएपछि बाँफिकोट गाउँपालिकामा एक जनामा पनि यसको संक्रमण देखिएको छैन । तै पनि पूर्व तयारी स्वरुप गाउँपालिकाले कोभिड आकष्मिक अस्पताल बनाउने तयारी गरेको हो । गाउँपालिकामा संक्रमण धेरै भएको ठाउँ र भारतका विभिन्न ठाउँबाट सर्वसाधारणहरु आइरहेका छन् । कतिबेला कसलाई र कहाँ संक्रमण हुन्छ भन्ने एकिन नभएकाले क्याम्पसमा अस्पताल बनाउने निर्णय भएको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले बताउनुभयो ।

सकेसम्म रोग नलागोस र त्यसबाट बच्न सबैलाई अनुरोध गरिएको उहाँले बताउनुभयो । रोग लाग्ये र उपचार नै गर्नुपर्ने अवस्था आएपछि गाउँपालिकामै उपचार गर्न सकियोस भनेर अस्पतालको व्यवस्थापन गर्न लागेको अध्यक्ष केसीले बताउनुभयो । उहाँका अनुसार यो अस्पतालमा कर्णाली प्रदेश सरकारबाट खटिएका स्वास्थ्यकर्मीले पनि काम गर्नेछन् । प्रदेश सरकारले ३ जना स्वास्थ्यकर्मी गत वर्ष नै कोरोना रोकथाम तथा उपचारका लागि पठाइदिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update