रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ र वडा नम्बर ७ लाई जोड्ने झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ३ नम्बर वडाको मुलपानी र ७ नम्बर वडाको नाथिगाडलाई जोड्ने गरी सानीभेरी नदीमाथी पुल निर्माण भइरहेको छ ।
सस्पेन्शन बिज्र डिभिजन काठमाडौंको ३ करोड रुपैयाँको लागतमा ३ सय ५५ मिटर लामो पुल निर्माणको काम भइरहेको हो । यस अघि यस क्षेत्रका सर्वसाधारण, विद्यार्थीहरु सिस्ने ४ को तातोपानीमा बनेको झोलुङ्गे पुल र ३ को बोजेरी झोलुङ्गे पुल मार्फत वारपार गरिरहेका थिए ।
अब यो पुल निर्माण भएपछि सर्वसाधारणलाई वारपारमा थप सहज हुने छ । यस पुल निर्माणको जिम्मा हिमशिखर कन्ट्रक्सन प्रालीले लिएको छ । अरु सबै काम सम्पन्न भएको पुलको अब साइट पखेट्टा र जाली लगाउने काम बाँकी रहेको कामदार चङ्खे झाँक्रीले जानकारी दिनुभयो । जेठ मसान्त सम्म पुल निर्माण भइसक्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।