Kakhara सबैको खबर सम्पूर्ण खबर
सरकारले कार्यविधि बनाउनै ढिला गरेपछि रुकुम पश्चिमका भूकम्प पीडित धमाधम स्थायी आवास बनाउँदै
रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिका वडा नम्बर ४ काे गाेलचाैरमा निर्माण हुँदै गरेकाे पक्की घर ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ४ गोलचौरका शेरबहादुर चन्द पक्की घर निर्माणमा व्यस्त हुनुहुन्छ । गत कार्तिक १७ गते मध्यरातमा गएको भूकम्पले घर पूर्ण रूपमा भत्किएपछि उहाँको परिवार अस्थायी आवास मुनि आइपुगेको छ । केही समय पालमै बसेको यो परिवार सरकारले अस्थायी आवासको कार्यविधि ल्याएसँगै अस्थायी आवास निर्माण गरेर उक्त आवासमा सरेको थियो । हाल पनि चन्दको परिवार अस्थायी आवासमै छ ।

तर अस्थायी आवास मुनिको बास उहाँलाई मन परेन । हिउँदमा अत्यधिक चिसो भोगेको चन्द परिवारले जस्ता पाताले बनाएको उक्त आवासमै अत्यधिक गर्मीको सामना गरिरहेको छ । तर यसरी बर्खा काट्न नसकिने निष्कर्षका साथ चन्द परिवार आफैँ स्थायी आवास निर्माणमा जुटेको हो । ‘सरकारले अस्थायी आवास निर्माणमै ढिलाइ गर्‍यो, अझै पनि अस्थायी आवासकै दोस्रो किस्ता पाएका छैनौँ, उहाँले भन्नुभयो–अब स्थायी आवास त झन् कहिले हो कहिले, यसरी हुँदैन भनेर ऋण गरेर पक्की घर निर्माणमा जुटेका छौँ ।’ चार कोठाको पक्की घर निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ ।

Abash-5-1718971349.jpg
उहाँको घर छेउमै अर्को पनि पक्की घर निर्माण भइरहेको छ । यो घर हो रामबहादुर चन्दको । उहाँले पनि ४ कोठाको एक तले घर निर्माण गरिरहनुभएको छ । उहाँ पनि सरकारको भर पर्ने हो भने अझै केही वर्ष जस्ताकै छाप्रोमा बस्नुपर्ने अवस्था आउने सक्ने डरले आफ्नै लगानीमा स्थायी आवास निर्माणमा जुटेको बताउनुहुन्छ । शेरबहादुर र रामबहादुर मात्र होइन गोलचौरका अन्य भूकम्प प्रभावितहरू पनि आफ्नै लगानीमा स्थायी आवास निर्माणमा जुटेका छन् । वडाका प्राविधिक काशीराम खत्रीले गोलचौरमा मात्र १५ बढी पक्की घर निर्माण भइरहेको जानकारी आएको बताउनुभयाे ।

सरकारले स्थायी आवास निर्माणका लागि ५ लाख दिने भने पनि कार्यविधि बनाउन ढिलाइ गरेपछि भूकम्प प्रभावितहरू आत्तिएर आफैँ घर निर्माणमा जुटेको उहाँले बताउनुभयो । दैनिक रूपमा वडा कार्यालयमा पुगेर भूकम्प प्रभावितले पक्की घर कहिले बन्छ भन्ने प्रश्न गर्नुका साथै ढिलाइ हुने भए आफैँ घर निर्माण गर्ने बताउने गरेको उहाँले बताउनुभयो । आफूहरूसँग केही समय पर्खिनुहोस् भन्नु बाहेक अन्य जवाफ नरहेको उहाँ बताउनुहुन्छ ।

Aabas-1718971350.jpg
वडाध्यक्ष मनोज बुढाथोकीले अब प्रभावितलाई रोक्न सकिने अवस्था नरहेको बताउनुभयो । ‘भूकम्प प्रभावितहरू धेरै नै आत्तिइसक्नुभएको छ, अब उहाँहरूलाई घर नबनाउनुहोस् भन्ने अवस्था छैन, उहाँले भन्नुभयो–बरु घर निर्माण गर्दा नक्सा पास अनिवार्य गरेका छौँ, प्राविधिकको प्रत्यक्ष निगरानीमा घर बनाउनुहोस् भनेका छौँ ।’ अब निर्माण हुने घरहरू भूकम्प प्रतिरोधी हुनुपर्छ भन्नेमा वडा गम्भीर रहेको उहाँको भनाई छ ।

भूकम्प प्रभावित अन्य क्षेत्रमा पनि भूकम्प प्रभावितहरू आफ्नै लगानीमा स्थायी आवास निर्माणमा जुटिसकेका छन् । भूकम्पले जिल्लाका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा बढी भौतिक तथा मानवीय क्षति भएको थियो । समग्रमा सबै पालिकामा भूकम्पले क्षति गरेको थियो । जिल्लामा ३२ हजार बढी लाभग्राही कायम भएका छन् । त्यसका आधारमा अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता बापत २५ हजारका दरले स्थानीय तह मार्फत वितरण गरिएको छ ।

Abash-1-1718971351.jpg
जिल्लामा दोस्रो किस्ता निकासा सुरु भए पनि अहिलेसम्म वितरण गरेर भने सकिएको छैन । सङ्घीय सरकारले जाजरकोट भूकम्प प्रभावितलाई स्थायी आवास निर्माणका लागि ५ लाख दिने निर्णय गरे पनि कार्यविधि बनिसकेको छैन । यसले गर्दा कहिलेबाट स्थायी आवास निर्माण हुन्छ भन्ने अवस्था छैन । 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update