Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय
फोटो गुगलबाट साभार ।

कोरोना संक्रमितहरुको उपचारको लागि रुकुम पश्चिममा एक अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय भएको छ । शुक्रबार जिल्ला समन्वय समितिको संयोजनमा प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्मा, पालिका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी र चिकित्सकहरु सहभागी रहेको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले हरेक पालिकामा कम्तिमा २० वटा आइसोलेशन बेड तयार गर्नुको साथै चौरजहारी अस्पतालमा एक सय र जिल्ला अस्पताल सल्लेमा ५० बेड थप्ने निर्णय गरेको छ ।  यस्तै हरेक पालिकाहरुले कम्तिमा १० वटा अक्सिजन सिलिण्डर, २० वटा अक्सिमिटर र २० वटा अक्सिजन कन्सन्ट्रेटर तत्काल व्यवस्था गर्ने निर्णय भएको छ । एम्बुलेन्स र शव बाहनका चालकहरुलाई प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय भएको छ ।

कोरोना उपचारमा खटिने जनशक्तिको अभाव पूर्ति गर्न पालिकाहरुले नै तत्काल स्वास्थ्यकर्मीहरु हायर गरी काममा लगाउने निर्णय भएको छ । कोभिड महामारीको बेला जनताको मनोबल उँचो बनाइराख्न चेतनामूलक जानकारी सम्प्रेषण गर्ने र बाहिरबाट भित्रिएकाहरुलाई वडाहरुले होम आइशोलेशनमा राख्ने व्यवस्था गर्ने निर्णय भएको छ । गम्भीर प्रकृतिका विरामीहरुको उपचारको लागि संघीय र प्रदेश सरकारलाई अनुरोध गर्ने बैठकको निर्णय बैठकमा भएको छ ।

बैठकमा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री जनार्दन शर्माले महामारीको बेला नियम कानुनभन्दा जनताको जीवन रक्षालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभयो । उहाँले जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसहितका प्रशासनिक जनशक्ति, सुरक्षा निकाय र मूलतः स्वास्थ्यकर्मीहरुको संयुक्त प्रयासबाट महामारीको क्षती न्यूनीकरण गर्न सकिने भएकोले तदारुकताका आ–आफ्नो जिम्मेवारीमा प्रतिवद्ध भएर लाग्न निर्देशन दिनुभयो ।  
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update