Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट नगरपालिकाले गर्यो ८४ करोड बढीको बजेट सार्वजनिक 
बजेट प्रस्तुत गर्दै नगर उप म्रमुख पुन

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को बजेट लाएको छ । १४ औँ नगर सभामा सोमबार नगर उप प्रमुख विमलकुमार पुनले ८४ करोड ७१ लाख ७८ हजार ९ सय ८६ रुपैयाँ  बराबरको अनुमानित बजेट पेस गर्नुभएको  हो । कुल विनियोजित बजेट मध्ये चालुतर्फ ५६ करोड ३ लाख ७८ हजार ९ सय ८६ रुपैयाँ अर्थात् ६६.५३ प्रतिशत रहेको छ । त्यस्तै पुँजीगत तर्फ २८ करोड १८ लाख अर्थात् ३३.४६ प्रतिशत बजेट विनियोजन गरिएको छ । 

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये  सङ्घीय वित्तीय समानीकरण अनुदानबाट ११ करोड ५६ लाख रुपैयाँ, सशर्त अनुदान सङ्घीय सरकारबाट ४१ करोड ८३ लाख ५९ हजार, राजस्व बाँडफाँड सङ्घीय सरकारबाट ११ करोड १५ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ

त्यस्तै विशेष अनुदान सङ्घीय सरकारबाट २ करोड र  समपूरक अनुदान सङ्घीय सरकारबाट १ करोड ७५ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ । कर्णाली प्रदेश सरकार समानीकरण अनुदान बापत १ करोड ३३ लाख ३२ हजार, प्रदेश सरकार सशर्त अनुदानबाट ७ करोड ८३ लाख २८ हजार, प्रदेश सरकार राजस्व बाँडफाँडबाट १९ लाख ५९ हजार ९ सय ८७ रुपैयाँ, प्रदेश विशेष अनुदानबाट ३० लाख, प्रदेश समपूरक अनुदान १ करोड ४५ लाख बजेट प्राप्त हुने छ ।

स्थानीय  राजश्व बाँडफाँडबाट ५० लाख, नगरपालिकाको आन्तरिक स्रोतबाट २ करोड ८० लाख स्रोत बेहोर्ने उप प्रमुख पुनले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ । आर्थिक वर्ष २०८०/८१ मा खर्च नभई बचत हुने १ करोड ५० लाख रुपैयाँ पनि आगामी आर्थिक वर्षमा खर्च हुने छ । 

नगरपालिकाले आर्थिक वर्ष२०८१/०८२ को नीति तथा कार्यक्रम पनि सोमबार नै प्रस्तुत गरेको छ ।  नभर सभामा नगर प्रमुख महेन्द्र केसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गरिएको र आवश्यक छलफल पश्चात् पारित हुने नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update