Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकाेट नगरपालिकालाई हाम्राे सराेकारका सुझाव
नगरपालिकालाई सुझाव पत्र बुझाउँदै हाम्राे सराेकारका सचिव प्रकाश विक ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा रहेको हाम्रो सरोकारले मुसिकोट नगरपालिकामा सुझाव पत्र पेस गरेको छ । विभिन्न क्षेत्रको सुधारका लागि संस्थाले आइतबार मुसिकोट नगरपालिकामा सुझाव पत्र बुझाएको हो । उसले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, खानेपानी तथा उत्पादनका क्षेत्रमा गर्न सकिने प्रयासका विषयमा सुझाव पेस गरेको छ । 

शिक्षामा सुधारका लागि आवश्यक परेमा स्थानीय शिक्षा ऐन संशोधन गरी स्थानीय शिक्षकहरूको जनभावना बुझेर सरुवा गर्ने, महिनामा कम्तीमा एक दिन प्राविधिक तथा सीपमूलक तालिमको व्यवस्था मिलाउने, निजी स्कुलहरूले नगरपालिकाको सिफारिसका आधारमा केही प्रतिशत छात्रवृत्ति अनिवार्य गर्न लगाउन हाम्रो सरोकारले सुझाव दिएको छ । 

नगरपालिकाद्वारा सञ्चालित एम्बुलेन्स सेवा नगरवासीका लागि निःशुल्क गर्न, कार्यविधि तयार गरी नगरपालिका भित्र सञ्चालनमा रहेका निजी अस्पतालहरूलाई नगरपालिकाको सिफारिसका आधारमा निःशुल्क वा सहुलियतमा उपचारको व्यवस्था गर्न, टोल÷टोलमा स्वास्थ्य सम्बन्धी चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न पनि उसले सुझाव दिएको छ । 

यसका साथै राष्ट्रिय स्तरका बहुउद्देश्यीय खेल सञ्चालन गर्न मिल्ने स्तरका खेल मैदान तथा आवश्यक संरचना निर्माण गर्न, नगरपालिका भित्र प्रतियोगिता आयोजना गर्ने सङ्घ संस्थाहरूलाई प्रेरित गर्नुका साथै प्रतियोगितामा लाग्ने कर छुट र आवश्यक सहयोग गर्न, प्रत्येक वडाको सम्भावना हेरेर खेल प्रशिक्षकको व्यवस्था गर्न, र नगरपालिका भित्र उत्पादित प्रदेश तथा राष्ट्रिय स्तरका खेलाडीलाई खेल भत्ताको व्यवस्था गर्न समेत सुझाव दिएको छ । 

पर्यटनको सम्भावना रहेका वडाहरूको पहिचान गरी स्थानीय संस्कार तथा संस्कृतिहरूको संरक्षण तथा संवर्द्धन गर्न, वडाहरूमा रहेका फुस (खर) को छाना सहितका घरहरूलाई संरक्षण तथा मर्मतका साथै स्तर उन्नतिका लागि आवश्यक रकमको व्यवस्था गर्न हाम्रो सरोकारले सुझाव दिएको छ । 

उत्पादनशील जग्गाको पहिचान गरी बाझो राख्न नपाउने नीति निर्माण गर्न, नगरमा उत्पादन हुने र नगरपालिकालाई निर्भर बनाउन सक्ने खाद्य वस्तुहरूको पहिचान गरी उक्त वस्तु बाहिरबाट आयातमा रोक लगाउन, परम्परागत (रैथाने) बालिका सट्टा नगदे बाली उत्पादनका लागि नीतिगत सुधारका साथै पालिकाबाट प्राविधिक सहयोग गर्न, कृषि उपज उत्पादन पछिको सम्पूर्ण व्यवस्थापनको जिम्मा लिन र कृषकहरूले भोग्नुपर्ने प्राकृतिक प्रकोपको मध्यनजर गर्दै बाली बिमाको व्यवस्था गर्न समेत सुझाव दिइएको छ । 

त्यस्तै हाम्रो सरोकारले मुहान रिचार्जको लागि प्राविधिक सर्वेक्षण गरी मुहान भन्दा मथिल्लाे भागमा आकाशे पानी सङ्कलनको लागि कुवा निर्माण गर्न, फोहर व्यवस्थापनका लागि प्रत्येक वडामा रहेका बजार एरियाहरूमा डस्ट बिनको व्यवस्था गर्न र नगरपालिका भित्र रहेका सार्वजनिक जग्गाको सही पहिचान गरी अतिक्रमित जग्गालाई फिर्ता ल्याउने व्यवस्था गर्न पनि सुझाव दिएको छ । हाम्रो सरोकारका महासचिव प्रकाश विकले नगर उपप्रमुख विमलकुमार पुनलाई सुझाव पत्र बुझाउनुभएको हो ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update