Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट गाउँपालिकाको पहिलो प्राथमिकता आर्थिक विकास 
गाउँसभा नीति, कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष जनककुमार बाँठा ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले पनि आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति कार्यक्रम ल्याएको छ । सोमबार गाउँपालिका अध्यक्ष जनककुमार बाँठाले १६ औँ गाउँ सभामा गाउँपालिकाको आगामी वर्षको नीति कार्यक्रम प्रस्तुत गर्नुभयो । 

गाउँपालिकाले आर्थिक विकास अन्तर्गत कृषि, सिँचाई तथा पशुपक्षी विकास, उद्योग वाणिज्य तथा व्यापार, पर्यटन प्रवर्द्धन तथा साहित्य, संस्कृति संरक्षण र सहकारीलाई राखेको छ । आर्थिक समृद्धिको पहिलो आधार कृषि भन्ने मूल नारालाई आत्मसाथ गरी कृषिलाई व्यावसायिक, आधुनिक बनाई रोजगारी सृजना गर्न, खाद्यान्नमा आत्मनिर्भर बन्न, गरिबी र भोकमरी अन्त्यका लागि आवश्यक भू उपयोग तथा कृषि पूर्वाधार निर्माणलाई प्राथमिकता दिने नीति गाउँपालिकाले लिएको छ । 

कृषकको उत्पादनलाई बजारसम्म पुर्‍याउन कृषि हाटबजार तथा साझा सुविधा केन्द्रको विस्तार, कृषि सडक सञ्जाल स्थापना, वडा नम्बर ४ मा दुग्ध सङ्कलन केन्द्र सञ्चालनमा ल्याउने र कृषकमा आत्मसम्मान अभिवृद्धि गर्न एक घर एक ज्येष्ठ किसान प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाले नीति लिएको छ । गाउँपालिकाले जलविद्युत विकासका लागि स्यार्पू हाइड्रो पावर कम्पनीमा गाउँपालिकाबाट शेयर लगानी गरी शेयर स्वामित्व हिस्सा अभिवृद्धि गर्ने नीति पनि लिएको छ । 

पर्यटन तर्फ बुरालमष्ट लगायतका मठमन्दिरको संरक्षण गर्नुका साथै धार्मिक तथा पुरातात्त्विक स्थानहरूको खोज, पहिचान र संरक्षणका साथै स्यार्पू दह, तार्सुकाँडा, मेलगैरी, झारमारे, थुमालेक, थामालेक, गुप्ती दह, भेरिखोला जारकाटे, पाथिभरेलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने नीति कार्यक्रममा उल्लेख छ । 

गाउँपालिकाले आधारभूत तह १–५, ५–८ र ९–१० मा पालिका स्तरिय एक एक वटा नमुना विद्यालय स्थापना गर्ने, बालबालिकालाई विद्यालय ल्याऔँ, टिकाऔँ र सिकाऊ कार्यक्रमलाई निरन्तरता दिएको छ भने अन्तर विद्यालय तथा विद्यालय स्तरीय खेलकुद कार्यक्रम तथा बौद्धिक कार्यक्रमलाई जोड दिनुका साथै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक र विजेता खेलाडी तथा प्रदेश स्तरीय खेलमा छनोट हुने खेलाडीहरूलाई पुरस्कार र सम्मानको व्यवस्था गर्ने नीति बनाएको छ ।

Janak-&-Tara-1719293961.jpg
सामाजिक क्षेत्र अन्तर्गत यसका अलावा स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता, खेलकुद तथा मनोरञ्जन, महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा समावेशी विकासलाई जोड दिइएको छ । पूर्वाधार विकास, रोजगारी सृजना, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन, संस्थागत विकास, सुशासन र सेवा प्रवाह, सूचना तथा सञ्चार प्रविधि, आर्थिक प्रशासन, राजस्व तथा कर प्रणाली, सङ्गठन तथा जनशक्ति व्यवस्थापनका क्षत्रलाई पनि गाउँपालिकाले प्राथमिकता दिएको छ । 

गाउँपालिकाले सोमबार नै आगामी वर्षका लागि बजेट समेत ल्याएको छ । गाउँपालिका उपाध्यक्ष तारा बुढा केसीले गाउँपालिकाको आगामी आर्थिक वर्षको अनुमानित बजेट गाउँ सभामा पेस गर्नुभएको हो ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update