Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट र पिपल स्वास्थ्य चौकीमा जिल्ला स्तरीय अनुगमन 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको बाँफिकोट स्वास्थ्य चौकी र पिपल स्वास्थ्य चौकीको जिल्ला स्तरीय टोलीले अनुगमन गरेको छ । वडा नम्बर ४ मा रहेको बाँफिकोट स्वास्थ्य चौकी र वडा नम्बर २ को पिपल स्वास्थ्य चौकीको सेवा प्रवाह, सामग्रीको अवस्था लगायतका विषयमा अनुगमन गरिएको हो । 

यी दुई स्वास्थ्य चौकी सहित मग्मा स्वास्थ्य चौकीमा वान हर्ट वर्ल्ड वाइडको साझेदार संस्था रुकुमेली समाज विकास केन्द्रद्वारा सञ्चालित मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको सुदृढीकरण परियोजना मार्फत बर्थिङ सेन्टरका लागि विभिन्न सामग्री वितरणका साथै स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धि तालिम दिइएको थियो । 

वितरण गरिएका सामग्रीको अवस्था, सेवाको गुणस्तर निरन्तरता लगायतका बारेमा अनुगमन गरिएको वान हर्ट वर्ल्ड वाइडका जिल्ला कार्यक्रम संयोजक लोकमणि गिरीले जानकारी दिनुभयो । अनुगमनका क्रममा स्वास्थ्य संस्थामा उपलब्ध गराइएका सामग्रीले सेवा प्रवाह सुनिश्चितता तथा निरन्तरतामा टेवा पुगेको बाँफिकोट स्वास्थ्य शाखा प्रमुख लालबहादुर ओलीले बताउनुभयो । 

DSC09605-1719404586.jpg
उहाँका अनुसार सामग्री र स्वास्थ्यकर्मीलाई क्षमता विकास तालिम दिँदा प्रसूति सेवा थप प्रभावकारी र भरपर्दो बनेको छ । अनुगमन टोलीमा सहभागी स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक डा. सुशील पोख्रेलले सामग्री तथा अन्य सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि यसै गरी सहकार्य तथा साझेदारी गरी मातृ तथा शिशु मृत्युदर घटाउन स्वास्थ्य सेवा कार्यालयले लिएको लक्षमा टेवा पुग्ने अपेक्षा गर्नुभयो । 

अनुगमन टोलीका अर्का सदस्य जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर विकले वान हर्टले जिल्लामा प्रसूति सेवालाई प्रभावकारी बनाउन महत्त्वपूर्ण काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो । आफू यसअघि पनि वान हर्ट मार्फत भएका कामको अनुगमनमा पुगेको बताउँदै उहाँले त्यति बेलै अन्य ठाउँमा पनि यसै गरी काम भएको होला भन्ने लागेको र बाँफिकोट पुग्दा पुष्टि भएकोमा खुसी व्यक्त गर्नुभयो । 

वान हर्ट वर्ल्ड वाइडका जिल्ला संयोजक लोकमणि गिरीले वान हर्टले जिल्लामा मातृ तथा शिशु मृत्यु दर घटाउन प्रसूति गृह निर्माण देखि सामग्री हस्तान्तरण र स्वास्थ्यकर्मीका लागि क्षमता विकाससम्मका कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । कार्यक्रम लागु भएपछि आएको परिवर्तनका बारेमा बुझ्न बेला बेलामा जिल्ला स्तरीय अनुगमन गर्ने गरेको समेत उहाँले बताउनुभयो । 

DSC09617-1719404583.jpg
अवस्था बुझ्नका लागि मात्र अनुगमन नभई स्थानीय सरकारसँगको सम्बन्ध पनि मजबुत होस भनेर जिल्लाको नेतृत्व फिल्ड लेबलमा आएको र स्वास्थ्य सेवा कार्यालय तथा जिल्ला समन्वय समितिको सहभागिताले अझ उच्च मनोबलका साथ काम गर्नुपर्ने कुरामा मदत पुगेको महसुस भएको उहाँले बताउनुभयो ।

रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले सबैको सहकार्य र साझेदारी बिना कुनै पनि कार्यक्रम सफल नहुने भएकोले यस परियोजना अन्तर्गत सबैसँग सहकार्य गरेर काम गरिरहेको र उक्त कामको प्रभावकारिताका लागि अनुगमनमा जोड दिइएको बताउनुभयो । 

अनुगमनमा जिल्ला समन्वय समिति उप प्रमुख देवबहादुर विक, स्वास्थ्य सेवा व्यवस्थापक डा. सुशील पोख्रेल, रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपाली, कार्यकारी निर्देशक नरेन्द्र ओली, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष भिमराज ओली, बाँफिकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबहादुर ओली, शाखाका सह संयोजक सुनिल केसी, पत्रकार मनिष खड्का लगायतको सहभागिता रहेको थियो । 

DSC09633-1719404581.jpg
अनुगमन टोलीलाई बाँफिकोट गाउँपालिका उपाध्यक्ष तारा बुढा केसी, प्रमुख प्रशासकीय अधिकृत गणेश विक र वडा नम्बर २ का अध्यक्ष प्रकाश खत्री लगायत सम्बन्धित स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले स्वागत गरेका थिए । 

मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको सुदृढीकरण परियोजना अन्तर्गत मुरु स्वास्थ्य चौकी, गोतामकोट स्वास्थ्य चौकीमा स्थानीय तहको साझेदारीमा प्रसूति भवन निर्माणाधीन अवस्थामा छन् । त्यस्तै यस परियोजना मार्फत बर्थिङ सेन्टरलाई सामग्री हस्तान्तरण, स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धि तालिम लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन् । 

सन् २०२२ देखि सुरु भएको यो परियोजना सन् २०२७ सम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update