Kakhara सबैको खबर सम्पूर्ण खबर
मुख्यमन्त्री कप क्रिकेटको फाइनल पुग्न रुकुम र सल्यान तथा सुर्खेत र कालिकोट भिड्ने
सल्यान बिरुद्ध ब्याटिङ गर्दै सुर्खेतका खेलाडी । फाेटाे: सेताे पंक्षी डटकम ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा जारी मुख्यमन्त्री कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । आज समूह चरणको अन्तिम खेलमा सुर्खेतले सल्यानलाई पराजित गरेसँगै समूह बि बाट समेत सेमिफाइनल पुग्ने टिमको टुङ्गो लागेको हो । 

समूह बि बाट सुर्खेत समूह विजेता र सल्यान उप विजेता बन्दै सेमिफाइनल पुगेका छन् । समूह ए बाट यस अघि नै रुकुम पश्चिम विजेता र कालिकोट उप विजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेका थिए । सेमिफाइनलमा समूह ए को विजेता रुकुम पश्चिम र समूह बि को उप विजेता सल्यानले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् । 

त्यस्तै अर्को खेलमा समूह बि को विजेता सुर्खेतले फाइनल प्रवेशका लागि समूह ए को उप विजेता कालिकोटको सामना गर्ने छ । सेमिफाइनलका दुवै खेल भोली हुने छन् भने फाइनल खेल पर्सी हुने नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य तथा कर्णाली प्रादेशिक क्रिकेट सङ्घका सचिव श्रीधर केसीले जानकारी दिनुभयो । 

कर्णाली प्रदेशका ७ जिल्लाको सहभागिता रहेको प्रतियोगिताको समूह ए बाट जाजरकोट र दैलेख तथा समूह बि बाट जुम्ला समूह चरणबाटै बाहिरिएको उहाँले बताउनुभयो । 

समूह चरणको अन्तिम खेलमा आज सुर्खेतले सल्यानलाई ३९ रनले पराजित गरेको छ । १६ ओभरको खेल खेलाइएकामा सुर्खेतले टस जितेर ब्याटिङ गर्दै ९१ रन बनाएको थियो । उसका लागि रबिन्द्रजंग शाहीले सर्वाधिक २८ रन बनाएका थिए । त्यस्तै मनिष थापाले १५, रोशन शाहीले १४ र दिनेश रावलले ११ रनको योगदान गरे । 

सल्यानका लागि कप्तान दिवान पुनले सर्वाधिक ४ विकेट लिए । रबिन नेपालीको नाममा २ तथा विक्रम रोका र सुरज बुढाथोकीको नाममा एक एक विकेट रह्यो । ९२ रनको लक्ष पछ्याउने क्रममा सल्यान जम्मा ५२ रनमा समेटियो । सल्यानका लागि कप्तान दिवान पुनले २६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

सल्यानलाई सस्तैमा समेट्न सुर्खेतका निश्चल रावलले सर्वाधिक ३ विकेट लिए । रबिन्द्रजंग शाही र कृष्ण ओलीले २÷२ विकेट लिँदा सुदिप बलामी मगर र विपिन शर्माको नाममा १÷१ विकेट रह्यो । यो खेलमा सुर्खेतका रविन्द्रजंग शाही प्लेयर अफ द म्याच घोषित भए । 

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा कर्णाली प्रादेशिक क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगिताको विजेताले १ लाख १० हजार पुरस्कार पाउँदा उप विजेताले ५१ हजार पुरस्कार पाउने छ । त्यस्तै विभिन्न व्यक्तिगत इभेन्टमा पनि खेलाडी पुरस्कृत गरिने आयोजकले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update