Kakhara सबैको खबर सम्पूर्ण खबर
एसइई नतिजाः राष्ट्रिय भन्दा रुकुम पश्चिमकाे नतिजा राम्राे, ६४.२१ प्रतिशत उत्तीर्ण 

माध्यमिक शिक्षा परीक्षा एसइईमा रुकुम पश्चिमबाट ६४.२१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । आज सार्वजनिक भएको नतिजा अनुसार राष्ट्रिय नतिजा भन्दा रुकुम पश्चिमको नजिता राम्रो देखिएको हो । जिल्लाबाट साधारण र प्राविधिक धार तर्फ गरी कुल ३ हजार ५ सय ६६ जनाले परीक्षा फारम भरका थिए । जसमध्ये २ हजार २ सय ९० जना उत्तीर्ण भएका छन् । यो कुल परीक्षार्थीको ६४.२१ प्रतिशत रहेको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले जनाएको छ ।

१ हजार २ सय ६१ जना भने अनुत्तीर्ण अर्थात् नन ग्रेड पाएका छन् । यसमा परीक्षामा सहभागी नभएका परीक्षार्थी समेतलाई जोडिएको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्राविधिक सहायक डायमन्ड पुनले जानकारी दिनुभयो । परीक्षा नियन्त्रण कार्यालयले नै परीक्षामा सहभागी नभएकालाई समेत नन ग्रेडमा समावेश गरेको उहाँको भनाई छ । कुल परीक्षार्थी मध्ये साधारण तर्फ ३ हजार ४ सय ७० जना परीक्षार्थी रहेकामा ६३.६५ प्रतिशत अर्थात् २ हजार २ सय ९ जना परीक्षार्थी कक्षा ११ मा पढ्न पाउने गरी उत्तीर्ण भएका छन् ।

साधारण तर्फ १ हजार २ सय ६१ अर्थात् ३६.३४ प्रतिशत विद्यार्थी अनुत्तीर्ण अर्थात् नन ग्रेड पाएका छन् । प्राविधिक धार तर्फ भने उत्तीर्ण प्रतिशत ८४.३७ प्रतिशत रहेको छ । प्राविधिक धार तर्फ कुल ९६ जनाले परीक्षा फारम भरेकामा ८१ जना उत्तीर्ण भएको प्राविधिक सहायक पुनले बताउनुभयो । उहाँका अनुसार १५ जना अर्थात् १५.६२ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् । यो पटक देखि उत्तीर्ण, अनुत्तीर्ण हुने गरी परीक्षाफल प्रकाशन गरिएको छ ।

जसअनुसार दुई वटा विषयमा नन ग्रेड अर्थात् अनुत्तीर्ण विद्यार्थीले मात्र मौका परीक्षा दिन पाउने छन् । जिल्लाबाट कति जनाले मौका परीक्षा दिन पाउने भनेर छुट्टिन बाँकी रहेको प्राविधिक सहायक पुनको भनाई छ । यसैबिच जिल्लाबाट ६७ जना विद्यार्थीहरूले ३.६० वा त्यो भन्दा माथिको जिपीए ल्याएका छन् । जिल्लाबाट जीपीए ४ भने कसैले पनि नल्याएको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले जनाएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गरिएको छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था बोर्डले गरेको छ । ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अङ्क र आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क ल्याउनुपर्ने व्यवस्था गरिएको हो । देशभरबाट ४७.८६ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update