हालसम्म सम्म ३ वटा मात्रै स्थानीय तह रहेको रहेको रुकुम पूर्वमा अब ४ वटा स्थानीय तह हुने भएका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकालाई २ वटा पालिका बनाउने प्रस्ताव गाउँ सभाबाट पारीत भएको छ । निर्णयको सिफारिस प्रदेश हुँदै संघीय सरकारबाट अनुमोदन भएपछि रुकुम पूर्वमा ४ वटा गाउँपालिका हुनेछन् । हाल एउटै रहेको पुथाउत्तरगंगा गाउँपालिका अब पुथा र उत्तरगंगा छुट्टा छुट्टै गाउँपालिका बन्ने भएको छ ।
१४ वटा वडा रहेको पुथाउत्तरगंगा गाउँपालिकालाई ७/७ वटा वडा हुने गरी दुई गाउँपालिका बनाउने प्रस्तावलाई विहीबारको विशेष गाउँ सभाले पारीत गरेको छ । पुथाउत्तरगंगा गाउँपालिकाका हालका वडा नम्बर १,२,३,४,५,६, र ९ रहने गरी पुथा र ७,८,१०,११,१२,१३, र १४ वडा रहने गरी उत्तरगंगा गाउँपालिका बनाउने प्रस्ताव गाउँ सभाबाट पारीत भएको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीले जानकारी दिनुभयो ।
सिस्ने गाउँपालिका १ र २ नंम्बर वडाले छुट्टै गाउँपालिका प्रस्ताव गरेमा हालको पुथाउत्तरगंगा गाउउँपालिका ७ र ८ नम्बर वडालाई त्यसमा मिलाएर अर्को गाउँपालिका बनाउने प्रस्ताव पनि पारीत भएको अध्यक्ष घर्तीले जानकारी दिनुभयो । गाउँ सभाले दुई वटा गाउँपालिका हुने सन्दर्भमा हालको १२ नम्बर वडाको जाजरबाङ गाउँलाई १३ नंम्बर वडामा मिलाउने गरी निर्णय गरेको छ । स्थानीय तहलाई हेरफेर गर्नु परे स्थानीय निर्वाचन हुनुभन्दा एक वर्ष अगाडी गाउँसभामा प्रस्ताव पारित गर्नुपर्ने कानूनी प्रावधन छ ।