Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबिसकोटका भूकम्प प्रभावित विद्यालयकाे नतिजा कमजाेर, नेरा मावि गत्तसैनाको नतिजा शून्य 
भूकम्पबाट सबैभन्दा प्रभावित मध्येकाे एक विद्यालय नेपाल राष्ट्रिय मावि गत्तसैना ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ७१.४६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार नगरपालिकाका १८ वटा विद्यालयबाट ४ सय १७ जना विद्यार्थीहरू एसइईमा सहभागी भएकामा २ सय ९२ जना विद्यार्थी उत्तीर्ण भएका छन् । तर नगरका भूकम्प प्रभावित विद्यालयको नतिजा कमजोर देखिएको छ । गत कार्तिक १७ गने गएको भूकम्पबाट प्रभावित विद्यालयको नतिजा कमजोर देखिएको हो ।

भूकम्प प्रभावित मध्येको नेपाल राष्ट्रिय मावि गत्तसैनाको नतिजा शून्य छ । यस विद्यालयबाट १९ जनाले परीक्षा दिएकामा कोही पनि विद्यार्थी पास नभएको नगर शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । भूकम्प प्रभावित आदर्श मावि ज्यामिरकोटबाट २१ जनाले परीक्षा दिएकामा ९ जना र जनविकास मावि टाकुराबाट २२ जनाले परीक्षा दिएकामा १३ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । एसइईको नतिजा हेर्ने हो भने अन्य विद्यालयको तुलनामा भूकम्प प्रभावित क्षेत्रमा उत्तीर्ण दर कम पाइएको छ । विद्यार्थीमा परेको मनोवैज्ञानिक असरका कारण भूकम्प प्रभावित क्षेत्रका विद्यालयको उत्तीर्ण दर अन्य विद्यालयको भन्दा निकै कम देख्न सकिन्छ ।

धेरै विद्यार्थीका कापी, कलम, किताब, पोसाक भूकम्पले घर भत्किदा पुरिएका थिए । विद्यार्थीले राम्ररी परीक्षाको तयारी गर्न नपाएका कारण पनि नतिजा कमजोर देखिएको नगर प्रमुख रवि केसीले बताउनुभयो । भूकम्पका कारणले विद्यार्थीमा कस्तो असर पर्याे भनेर अन्य विद्यालय र भूकम्प प्रभावित विद्यालयको नतिजालाई हेर्ने हो भने स्पष्ट हुने उहाँको भनाई छ । भूकम्पका कारण विद्यार्थी आफैले पनि राम्रो तयारी गर्न नपाएको र विद्यालयले पनि कोर्स पुरा गर्ने लगायतका तयारी गर्न नपाउँदा त्यसको असर रिजल्टमा देखिएको उहाँले बताउनुभयो । 

अन्य विद्यालयको नतिजा भने तुलनात्मक रूपमा राम्रो देखिएको छ । सबैभन्दा राम्रो नतिजा शाइकुमारी मावि रोकाजाखेतको शतप्रतिशत देखिएको छ । शाइकुमारीमा १९ जना विद्यार्थीले एसइई दिएकामा सबै उत्तीर्ण भएका छन् ।

अन्य विद्यालय मध्य सिस्ने हिमाल मावि साझेबगरका २१ जनामा १८ जना, हिमालय मावि खदीका २७ जनामा १४ जना, ज्ञानोदय मावि चौताराका १७ जनामा १४ जना, सरस्वती मावि मिग्रीका २२ जनामा १९ जना, सूर्योदय मावि होलीका १८ जनामा १२ जना, बालकल्याण माविका ३० जनामा २८ जना र सहिद स्मृति दिपज्योति मावि राडिका ६३ जनामा ५५ जना उत्तीर्ण भएको विवरण नगर शिक्षा युवा तथा खेलकुद शाखाले सार्वजनिक गरेका छन् ।

त्यस्तै कालिका मावि सुन्दरपानीबाट २३ जनाले परीक्षा दिएकामा १० जना, जनता मावि झिन्चौरबाट १८ जनाले परीक्षा दिएकामा ७ जना, जनविकास मावि घारीखोलाबाट २७ जनाले परीक्षा दिएकामा २४ जना, जनकल्याण मावि गोइरीबाट १२ जनाले परीक्षा दिएकामा ९ जना, नेपाल राष्ट्रिय मावि ठुलीबार्खुबाट २२ जनाले परीक्षा दिएकामा २० जना र जनजागरण मावि गाउँबारीबाट २४ जनाले परीक्षा दिएकामा १५ जना उत्तीर्ण भएका छन् । 

449474040_3649502381975629_8262480309168769981_n-1719748062.jpg

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update