रुकुम पश्चिममा सामाजिक सेवा इकाईले एक वर्षको अवधिमा ६ सय ३६ जना लक्षित वर्गका व्यत्तिलाई सेवा प्रदान गरेको छ । जिल्ला भित्र र बाहिर गरेर इकाईले एक वर्षको अवधिमा ६ सय ३६ जना लक्षित वर्गका व्यत्तिलाई नि:शूल्क सेवा प्रदान गरेको हो । गत साउन महिनादेखि जेठ मसान्तसम्म जिल्लाका ६ स्थानीय तह र जिल्ला बाहिरका गरेर लक्षित वर्गका ६ सय ३६ व्यत्तिलाई नि:शूल्क सेवा प्रदान गरिएको स्वास्थ्य सेवा कार्यालय एकद्धार संकट व्यवस्थापन केन्द्र रुकुम पश्चिमकी प्रमुख प्रेमा केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जेष्ठ नागरिक, नवजात शिशु स्वास्थ्य, मानव स्वास्थ्य, अपांग, गरिव तथा विपन्न वर्ग र आकष्मिक रुपमा आउने विरामीलाई नि:शूल्क स्वास्थ्य सेवा प्रदान गरिएको हो । एक वर्षको अवधिमा सबैभन्दा बढी सेवा मुसीकोट नगरपालिकाबाट ३ सय ४५ सेवा ग्राहीले सेवा लिएका छन् । भने सबैभन्दा कम चौरजहारी नगरपालिकाबाट ३ जनाले मात्र सेवा लिएको इकाई प्रमुख केसीले जानकारी दिनुभयो ।
त्यस्तै सानीभेरी गाउँपालिकाबाट ४२, त्रिवेणी गाउँपालिकाबाट ८५, बाँफिकोट गाउँपालिकाबाट ८१ र आठबीसकोट नगरपालिकाबाट १४ जना गरेर जम्मा ६ सय ३६ जनाले सामाजिक सेवा इकाईबाट सेवा लिएका हुन् । बहिरंग र इमरजेन्सी सेवाबाट २ हजार ५ सय र अन्तरंग सेवा बापत ५ हजार बराबरको स्वास्थ्य उपचार खर्च निःशूल्क पाउने व्यवस्था रहेको छ । गरिव तथा ‘ख’ वर्गका अपांगलाई ५० प्रतिशत र जेष्ठ नागरिक ७० देखि ७९ वर्ष उमेर समुहकालाई ७५ प्रतिशत छुटको व्यवस्था रहको छ । हालसम्म सामाजिक सेवा इकाईबाट ११ लाख ३८ हजार ७ सय ६५ रुपैयाँको उपचार खर्च सेवा ग्राहीलाई निःशूल्क गरिएको एकद्धार संकट व्यवस्थापन केन्द्र प्रमुख केसीले जानकारी दिनुभयो ।
स्वास्थ्य सुरक्षा कार्यक्रमको सहजिकरण गर्ने उदेश्यले लक्षित वर्गका सेवा ग्राहीलाई सेवा दिने उदेश्यले २०६९/०७० सालमा आठवटा अस्पतालमा सुरुवात गरिएको थियो । हाल तिनै तहको सरकार मिलेर ७७ जिल्लाका ८८ अस्पतालमा सामाजिक इकाई स्थापना भई सेवा लागु भएको बताएको छ । आगामी वर्षमा ५० शैयाभन्दा बढी क्षमता भएका निजि तथा सरकारी अस्पतालमा पनि सेवा विस्तार गर्ने योजना रहेको सामाजिक सेवा इकाईले जनाएको छ ।