Kakhara सबैको खबर सम्पूर्ण खबर
इकर्के पुन जिल्लाकै उत्कृष्ट पशु पालक कृषक 
मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत हुने तथा प्राेत्साहन रकम पाउने कृषकहरु ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १२ का इकर्के पुन मगर जिल्लाकै उत्कृष्ट पशु पालक कृषकका रूपमा पुरस्कृत हुनुभएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट उहाँलाई जिल्लाकै उत्कृष्ट कृषकका रूपमा पुरस्कृत गरेको हो ।

उहाँले नगद ४० हजार र प्रमाण पत्र प्राप्त गर्नुभयो । पुनले मौराखारा बाख्रा पालन फर्म सञ्चालन गरेर व्यावसायिक बाख्रा पालन गरिरहनुभएको छ । उहाँसँग अहिले ३ सय ३३ वटा बाख्रा रहेका छन् । व्यावसायिक रूपमा लाग्ने हो भने पशु पालन र कृषिबाट मनग्य आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । आफूले विभिन्न समस्याका बाबजुद बाख्रा पालन गरिरहेको बताउँदै उहाँले कृषकहरूलाई प्राविधिक ज्ञानको ठुलो आवश्यकता रहेको बताउनुभयो ।

उहाँ सहित अन्य दुई जना कृषक पनि पुरस्कृत भएका छन् । जिल्लाकै दोस्रो उत्कृष्ट कृषकका रूपमा चौरजहारी नगरपालिका ४ को रिजरे उन्नत कालिज फर्मका सञ्चालक धिरज भण्डारी र तेस्रो उत्कृष्ट कृषकका रूपमा मुसिकोट नगरपालिका वडा नम्बर १४ को मुसिकोट कृषि उद्योगका सञ्चालक धनकुमारी केसी पनि पुरस्कृत भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख शेरबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार र २० हजार नगद तथा प्रमाण पत्र प्राप्त गरेका छन् ।

Ikarke-Pun-1720056932.jpg
जिल्लाकै उत्कृष्ट पशु पालक कृषक इकर्के पुन ।

वार्षिक कार्यक्रम अन्तर्गत उत्कृष्ट व्यवसाय सञ्चालन गर्ने कृषकहरू मध्येबाट मापदण्ड अनुसार छनोट गरेर पुरस्कृत गरिएको उहाँले बताउनुभयो । त्यस्तै जिल्लाका व्यावसायिक पशुपालनमा रहेका १३ जना अन्य कृषि फर्महरूलाई मासु उत्पादन प्रोत्साहन कार्यक्रम अन्तर्गत प्रोत्साहन रकम पनि वितरण गरिएको छ । मुसिकोट १३ को तिलक बाख्रा पालन फर्म, त्रिवेणी ६ को वसुन्धरा पशुपंक्षी तथा कृषि विकास फर्म, त्रिवेणी १ को हिमाली कृषि फर्म, मुसिकोट १ को सिस्ने बहुउद्देश्यीय कृषि फर्म मुसिकोट १ को फेडरल इन्भेस्टमेन्ट प्रालिलाई ३० हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको हो ।

त्रिवेणी ९ को दिपज्योति कृषि तथा पशुपंक्षी फर्म, आठबिसकोट १४ को खड्का एकीकृत पशुपंक्षी तथा कृषि फर्म, मुसिकोट ४ को मल्ल पशु पंक्षी कृषि फर्म, मुसिकोट ७ को मिना बाख्रा पालन फर्म र पाण्डे बाख्रा पालन फर्मलाई पनि प्रोत्साहन स्वरूप ३० हजार दरले रकम प्रदान गरिएको निमित्त प्रमुख खड्काले बताउनुभयो । यसका साथै आठबिसकोट १२ को मौराखारा बाख्रा फर्म, आठबिसकोट १३ को प्रगतिशील बाख्रा पालन कृषक फर्म र आठबिसकोट १२ को कालाखोला बाख्रा पालन फर्मलाई भने ५० हजारका दरले प्रोत्साहन रकम प्रदान गरिएको छ ।

बुधवार एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतम, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त प्रमुख शेरबहादुर खड्का, कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसी लगायतले पुरस्कार तथा प्रोत्साहन रकम वितरण गर्नुभएको थियो । 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update