Kakhara सबैको खबर सम्पूर्ण खबर
मध्यपहाडी लाेकमार्गकाे रुकुम पूर्व र पश्चिम खण्डमा पहिराे नै पहिराे, सवारी अवरुद्ध
मध्यपहाडी लाेकमार्ग अन्तर्गत रुकुम पूर्वकाे रानीकाेटमा पहिराेमा फसेकाे बस निकालिदै ।

निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको छ । रुकुम पूर्व खण्ड अन्तर्गत सिस्ने गाउँपालिका वडा नम्बर ६ को रानिकोटमा झरेको पहिरोले सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा रुकुम पूर्वबाट रुकुम पश्चिम हुँदै दाङ, नेपालगन्ज सम्म जाने तथा रुकुम पश्चिम देखि रुकुम पूर्व हुँदै बागलुङ पोखरा र काठमाडौँसम्म जाने गाडीहरू रानिकोटमा रोकिएका छन् ।

सडक खुलाउन प्रयास गरिएता पनि निरन्तरको वर्षाका सडक खुलाउन नसकिएको प्रजिअ शर्माले बताउनुभयो । प्रजिअ शर्माले मध्य पहाडी लोक मार्गको यस खण्डमा यात्रा गर्दा सुरक्षालाई ध्यान दिन र अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध समेत गर्नुभएको छ । जति बेला पनि पहिरो खस्ने भएको हुँदा सवारी र यात्रुहरूको ध्यान दिएर यात्रा गर्न आग्रह गर्नुभयो छ । कमजोर भूगोलका कारण केही दिन यता यस क्षेत्रमा पहिरो झरिरहेको छ ।

यस्तै मुसिकोट नगरपालिका वडा नम्बर ८ किटिनीमा पनि निरन्तर सडकमा पहिरो खसिरहेको छ । यहाँ पनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । बर्खा सुरु भएसँगै मध्यपहाडी लाेकमार्गकाे रुकुम पश्चिम र रुकुम पूर्वका विभिन्न ठाउँमा निरन्तर पहिरो खस्दा यात्रा अवरुद्ध हुनुका साथै जोखिमपूर्ण बनेको छ । निरन्तरकाे वर्षाका कारण पहिरो हटाउन समस्या भइरहेको छ भने पहिरो पन्छाएर खुलाएको सडक पनि एकै छिनमा पुनः अवरुद्ध हुने गरेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको भनाई छ । 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update