विकास निर्माणले विस्तारै गति लिएको छ । सडक, विकास निर्माणको मुख्य मेरुदण्ड मानिन्छ । केही वर्ष अघिको तुलनामा अहिले धेरै जिल्ला, पालिकाहरु सडक सञ्जालमा जोडिएका छन । तर रुकुम पूर्वका दुर दराजका वस्तिहरुमा अझै पनि सडक सञ्जामा जाडिएका छैनन् । यसै कारण यी क्षेत्रका नागरिकहरुको दैनिकी कष्टकर बनिरहेको छ ।
पुथाउत्तरगंगा गाउँपालिका–८ का राजकुमार पुनलाई सदरमुकाम रहेको रुकुकोटसम्म पुग्नै पर्ने काम परिहाल्यो भने निकै पिरलो हुन्छ । भौगलिक रुपले विकट यो ठाउँबाट सदरमुकाम पुग्नका लागि दुई दिन लाग्छ । आउन जान र सदरमुकाममा बस्दासम्म कम्तिमा पनि १० हजार बढी रुपैँया खर्च गर्नुपर्ने बाध्यता रहेको पुनको दुखेसो छ ।
अफ्ठ्यारो भूगोलका कारण जिल्लाका माथिल्लो भेगमा अझै पनि सडक पुग्न पुग्न सकेको छैन । सिस्ने गाउँपालिका वडा नम्बर १ र २ तथा पुथाउत्तरगंगा गाउँपालिका १,२,३,४,७, ८ र ९ नम्बर वडा सडक सन्जालमा जोडिएका छैनन् । जसका कारण यहाँका नागरिक दैनिक उपभोग्य बस्तुहरुका साथै निर्माणका सामर्गीहरु जोखिम मोलेर घोडा खच्चडबाटै ढुवानी गरिरहेका छन् । यसले गर्दा वषौँदेखी महंगिको भार खेपिरनु परेको एक स्थानीय चेतकुमार सिंहको दुखेसो छ । उहाँले भन्नुभयो ‘सडक नपुगेका कारण निर्माणका सामाग्री ढुवानी गर्न निकै सास्ती खेप्नु परेको छ ।’
त्यस क्षेत्रमा सहिद मार्ग निर्माण कार्य जारी छ । सहिद मार्ग हुँदै पुथाको डिम्मुरगैरासम्म सडक पुगेको छ तर यात्रा गर्न त्यति सहज छैन । भिरालो बाटो भएकाले जोखिम मोलेर यात्रा गर्नुपर्नु पर्छ । सिस्ने गाउँपालिकाको सिस्ने, प्वाङ, पुथाउत्तरगंगा गाउँपालिकाका पेल्मा, हुकाम, रन्मा, मैकोट, जाङ, खाराबाङ लगायत ठाउँका नागरिकहरु सडक सञ्जालबाट विमुख जस्तै छन् । एक स्थानीइ अर्जुन सेनले देशमा ठूलो परिवर्तन भइसक्दा सम्म सडक बन्नु नसक्नु र त्यसको महशुस गर्न नपाउनु विडम्बना भएको बताउनुभयो ।
ग्रामिण वस्तीहरु सडक सञ्जालमा नजोडिएका कारण खाद्यन्न लगायतका दैनिक उपभोग्य सामग्रीहरु आपुर्तिमा समस्या एकातिर छ भने स्थानीय स्तरमा उत्पादित कृष्मि उपजले बजार पाएका छैनन् । हुकाम, पेल्मा, मैकोट लगायतका माथिल्लो भेगमा स्याउ उत्पादन राम्रो हुन्छ तर यहाँको स्याउले सहज रुपमा बजार पाउँदैनन जसका कारण कृषकहरुले हरेक बर्ष घाटा व्यहोर्नु परेको छ ।
विकास निर्माण नभएको होइन अहिले जिल्लाका अधिकांस ठाउँमा सडक पुगेका छन । सडक पुगेका ठाउँमा निकै सहज भएको छ । सडक पुग्न बाँकी रहेको ठाउँमा सडक निर्माणका लागि पहल भैरहेको पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य कमला रोकाले बताउनुभयो । धेरै ठाउँमा सडक पुगिसकेको छ बाँकी रहेका वस्तिहरुमा पनि सडक निर्माणका लागि डिपिआरको काम सकिएको उहाँले जानकारी दिनुभयो । भौगलिक विकटताको कारण देखाउँदै सडक निर्माणको जिम्मा लिएका कम्पनीले समयमै काम नगर्दा पनि अपेक्षीत रुपमा काम हुन नसकेको सांसद रोकाले बताउनुभयो ।