Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी नगरपालिकाले आज शनिवार पनि सेवा दियो 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आज शनिवार सार्वजनिक बिदाका दिन पनि सेवा दिएको छ । आर्थिक वर्ष सकिनै लागेको र भुक्तानी गर्नुपर्ने धेरै भएकोले आज शनिवार पनि सेवा प्रवाह गरिएको नगरपालिकाले जनाएको छ । 

स्थानीय तहबाट असार २४ गते देखि भुक्तानी र निकासा बन्द हुने भएपछि नगरपालिकाले आज शनिवार समेत सेवा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० मा कार्यालयले विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको शीर्षकको रकम बाहेक भुक्तानी दिनुपर्ने अन्य रकम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा एक साता अगावै भुक्तानी दिनुपर्ने व्यवस्थाका कारण यस्तो रकमको भुक्तानी असार २४ गतेसम्म मात्र दिन पाइने उहाँले बताउनुभयो । 

भुक्तानीका लागि २ दिन मात्र बाँकी रहेको अवस्थामा कुनै पनि काम भएको योजनाको भुक्तानी नरोकियोस् भनेर शनिवार समेत सेवा प्रवाह गरिएको ढकालले बताउनुभयो । नगरका १४ वडै वडा कार्यालय समेत आज खुला रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले यस सम्बन्धमा असार २० गते नै निर्णय गरेको थियो । 

चालु आर्थिक वर्ष २०८०÷०८१ सकिन अब केही दिन मात्र बाँकी रहेको छ । स्थानीय तहहरू यति बेला योजना तथा कार्यक्रमको भुक्तानीमा व्यस्त छन् । स्थानीय तह बनेपछि समेत असारे विकास रोकिएको छ । 

हरेक आर्थिक वर्षको असारमा धेरै योजना कार्यान्वयन गर्ने र अधिकांश बजेट समेत असारमै भुक्तानी हुने भएका कारण असारमा स्थानीय तह सहित विकासे कार्यालयहरूलाई भ्याई नभ्याई हुने गरेको छ ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update