Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा संघबाट आएकाे साढे ३५ करोड बजेट फ्रिज 

चालु आर्थिक वर्ष २०८०/०८१ मा रुकुम पश्चिममा सङ्घबाट आएको साढे ३५ करोड बजेट फ्रिज भएको छ । चालु र पुँजीगत तर्फ सङ्घबाट कुल ५ अर्ब ३० करोड ८५ लाख ६१ हजार ३ सय ४० रुपैयाँ आएकामा ४ अर्ब ९५ करोड ४५ लाख ७९ हजार ६ सय ७३ रुपैयाँ १२ पैसा खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय रुकुम पश्चिमले जनाएको छ । याे कुल बजेटकाे ९३.३३ प्रतिशत हाे । कार्यालयका अनुसार खर्च हुन नसकी ३५ करोड ३९ लाख ८१ हजार ६ सय ६६ रुपैयाँ ८८ पैसा फ्रिज भएको छ । जिल्लामा आएको कुल बजेट मध्ये ९३.३३ प्रतिशत खर्च भएकामा ६.६७ प्रतिशत बजेट फिर्ता गएको कोष तथा लेखा नियन्त्रक बोमलाल पराजुलीले जानकारी दिनुभयो ।

चालु भन्दा पुँजीगत अर्थात् विकासे खर्च बढी फ्रिज भएको उहाँले बताउनुभयो । पुँजीगत तर्फ १७.६७ प्रतिशत बजेट फ्रिज भएको छ । कुल पुँजीगत बजेट १ अर्ब ५ करोड, ४७ लाख ९० हजार २ सय २४ रुपैयाँ आएकामा ८२.३३ प्रतिशत अर्थात् ८६ करोड ८४ लाख ६९ हजार ९ सय ९७ रुपैयाँ २६ पैसा खर्च भएको कोष नियन्त्रक पराजुलीले बताउनुभयो । पुँजीगत तर्फ १८ करोड ६३ लाख २० हजार २ सय २६ रुपैयाँ ७४ पैसा फ्रिज भएको उहाँले बताउनुभयो ।

Feez-1720514819.png
चालु तर्फ भने ९६.०५ प्रतिशत बजेट खर्च भएको छ । चालुमा ४ अर्ब २५ करोड ३७ लाख ७१ हजार १ सय १६ रुपैयाँ आएकामा ४ अर्ब ८ करोड ६१ लाख ९ हजार ६ सय ७५ रुपैयाँ ८६ पैसा खर्च हुँदा १६ करोड ६७ लाख ६१ हजार ४ सय ४० रुपैयाँ १४ पैसा अर्थात् ३.९५ प्रतिशत बजेट खर्च हुन नसकी फिर्ता भएको छ ।

यो विवरण सङ्घ मातहतका कार्यालय र सङ्घीय कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत स्थानीय तहमा गएको बजेटको मात्र हो । प्रदेश मातहतको विवरण भने प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले राख्ने गरेको कोष नियन्त्रक पराजुलीले बताउनुभयो ।

यसका अलावा सङ्घको कार्य सञ्चालन कोष विविध तर्फ जिल्लाभर कुल १ अर्ब ४९ करोड ५० लाख १९ हजार ७ सय ६० रुपैयाँ २८ पैसा जम्मा आम्दानी रहेकामा १ अर्ब ३३ करोड ६० लाख ९७ हजार ६ सय ९० रुपैयाँ खर्च भएको विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयसँग छ । त्यस्तै धरौटी तर्फ २५ करोड २४ लाख ८६ हजार ३ सय ९१ रुपैयाँ २० पैसा आम्दानी भएकामा ४ करोड ४६ लाख २२ हजार २१ रुपैयाँ ६८ पैसा खर्च भएको पराजुलीको भनाई छ ।

उहाँका अनुसार चालु आर्थिक वर्षको असार २५ गतेसम्म जिल्लाभरबाट सङ्घ तर्फको राजस्व ९ करोड ७९ लाख ६० हजार १ सय ९५ रुपैयाँ ८० पैसा उठेको छ ।  

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update