
गोठमा सुतिरहेको अवस्थामा सोमबार राती आएको पहिरोले घाइते भएका रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर १ सल्ली बिसौनीका एक परिवारको उपचार भइरहेको छ । घाइते ४० वर्षीय कर्णबहादुर बुढा सहित तीनै जना परिवारको उपचार चलिरहेको हो । २ नम्बर वडाको स्वास्थ्य चौकी नायगाडमा सामान्य उपचार पछी थप उपचारको लागि घाइतेलाई मंगलबार नै जिल्ला अस्पताल रुकुम पूर्वमा ल्याएको थियो ।
पहिरोमा परेर घाइते हुनुभएका कर्णबहादुर, उहाँकी ३८ वर्षीया श्रीमती गोम्मा बुढा र ९ वर्षीया छोरी तिलसरा बुढाको जिल्ला स्वास्थ्य कार्यालय रुकुम पूर्वमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो । पहिरोमा परेर कर्णबहादुरका ११ वर्षीय छोरा सरगम बुढाको घटनास्थलमै मृत्यु भएको थियो । भने अन्य तीन जना घाइते भएका थिए । उपचारत घाइते तीनै जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
केहि दिन अघि मात्र बर्खे घाँस खुवाउनको लागी कर्णबहादुरको परिवार वस्तुभाउ सहित सिस्ने गाउँपालिका वडा नम्बर २ को दल्लीगैरा भन्ने ठाउँमा बस्दै आएको थियो । निरन्तरको वर्षा सँगै आएको पहिरोले परिवार सहित दुई गोरु एक भैँसी र पाडो पनि घाइते भएका थिए ।