गत वर्ष असोज ४ गते रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १ लागिमका हृदु गिरीको वडा नम्बर १ र २ को बिचमा रहेको पुमा खोलाले बगाएर ज्यान गयो । खोला तर्ने बेला बगेर बेपत्ता भएका ५३ वर्षीय गिरीको तीन दिन पछि शव फेला परेको थियो । सोहि खोलाले तीन वर्ष अघि एउटा जीप र मोटरसाइकल समेत बगाएको थियो ।
त्यस्तै गरी बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ४ को बिचमा रहेको तिल्चा खोलामा हरेक वर्षायाममा सवारी साधनलाई वारपार गर्न समस्या हुने गरेको छ । खोलामा बढेको पानीको बहावले साना तथा ठुला सवारी साधन सजिलै आवतजावत गर्ने अवस्था छैन् । फलामे गुन्डा पिपल पोखरा सडक खण्डमा पर्ने यी दुई खोला जस्तै अन्य ठाउँमा पनि वर्षातको सयममा मोटरेवल पुन नहुँदा सवारी साधनका साथै यात्रुलाई समस्या हुने गरेको बाँफिकोट गाउँपालिका वडा नम्बर १ का पवन चन्दले बताउनुभयो ।
जिल्लाका विभिन्न खोला तथा नदिमा मोटरेवल पुल नहुँदा हिउँदको समयमा समस्या नभए पनि वर्षातको समयमा यातायात सेवा अबरुद्ध हुँदा लामो समयसम्म यात्रु तथा स्थानीयले दुःख पाउने गरेको उहाँको भनाई थियो ।