Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका  ११  ठाउँमा पक्की पुल निर्माण हुने
फाइल फोटो ।

आगामी आर्थिक वर्षका लागि  रुकुम पश्चिमका विभिन्न सडक खण्डमा  ११ वटा  मोटरेवल पुल निर्माण हुने भएका छन् । कर्णाली प्रदेश सरकारले पुल निर्माणको लागि बजेट विनियोजन गरेसँगै जिल्लाका विभिन्न सडक खण्डमा ११ वटा पुल बन्ने भएका  हुन् । बाँफिकोट गाउँपालिका वडा नम्बर ४ र ६ को किमाना खोला तथा वडा नम्बर ४ र ९ को छिनखेत खोला, आठबीसकोट नगरपालिकाको वडा नम्बर १० र १२ को काला खोला तथा १० नम्बर वडाको खातुम खोला पुल निर्माणको लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।

यस्तै चौरजहारी नगरपालिकाको सेती खोला, सानीभेरी गाउँपालि ३ को देउता खोला, मुसिकोट नगरपालिका ११ को साँख खोला तथा त्रिवेणी गाउँपालिका ४ को खारा खोला र पेदीखेत खोला गरेर ११ ठाउँका सडक खण्डमा पर्ने खोलामा पक्की पुलको लागि  बजेट विनियोजन गरिएको छ । यी ११ स्थानका खोलामा आगामी आर्थिक वर्ष २०८१/८२ मा पक्की पुल बन्ने छन् ।  जिल्लाका विभिन्न  ११ वटा खोलामा मोटरबल पुल निर्माणको लागि कर्णाली सरकारले ८ करोड ६० लाख बजेट विनियोजन गरेको कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँफिकोट गाउँपालिमा चार, आठबीसकोट नगरपालिकामा दुई, सानीभेरी गाउँपालिकामा एक वटा पक्की मोटरेबल पुल निर्माण हुने छन् । यस्तै चौरजहारी नगरपालिकामा एक, त्रिवेणी गाउँपालिकामा दुई र मुसिकोट नगरपालिकामा एक  गरी ११ वटा पक्की पुल निर्माणको लागि बजेट विनियोजन गरिएको मन्त्री केसीले जानकारी दिनुभयो । बाँफिकोट गाउँपालिका वडा नम्बर १ र २ को बिचमा रहेको पुमा खोला पुल निर्माणको लागि एक करोड २० लाख, ३ र ४ को बिचमा रहेको तिल्चा खोला पुल निर्माणको लागि एक करोड ८० लाख, ४ र ६ को बिचमा रहेको किमाना खोला पुलको लागि ५० लाख र ४ र ९ को बिचमा रहेको छिनखेत खोला पुल निर्माणको  लागि ७० लाख बजेट विनियोजन गरिएको  छ । 

यस्तै खातुम खोला पुल आठबीसकोट नगरपालिका वडा नम्बर १० को लागि ५० लाख र वडा नम्बर १० र १२ को बिचमा रहेको काला खोला पुलको लागि ४० लाख, सानीभेरी गाउँपालिका वडा नम्बर ३ को देउता खोला पुलको लागि ६० लाख र चौरजहारी नगरपालिकाको सेतिगाड खोला पुलको लागि ३० लाख बजेट पारित भएको छ ।यस्तै त्रिवेणी गाउँपालिका पेदिखोला पुलको लागि ७० लाख, खारा खोला पुलको लागि ४० लाख र मुसिकोट नगरपालिका ११ को साँख खोला पुल निर्माणको लागि ५० लाख बजेट विनियोजन गरिएको  आर्थिक मामिला तथा योजना मन्त्रीका स्वकीय सचिव तुल देवकोटाले जानकारी दिनुभयो ।

बर्सातको समयमा जोखिम मोलेर वारपार गर्ने खोलाहरूमा पुल निर्माण हुने भए पछि जिल्लावासी हर्षित भएका छन् । बाँफिकोट गाउँपालिका वडा नम्बर १ का पवन चन्दले सडक सञ्चालनमा आएको लामो पछि कर्णाली प्रदेश सरकारले पुल निर्माणको लागि बजेट व्यवस्थापन गरेको भन्दै खुसी व्यक्ति गर्नुभयो । पक्की पुल निर्माण भएपछि सवारी साधनसँगै खोलामा आवतजावत गर्ने सर्वसाधारणलाई समेत सहज हुने उहाँको अपेक्षा छ । 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update