Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट नगरपालिकामा मुख्यमन्त्री रोजगारबाट २७ सय युवा लाभान्वित
फाइल फोटो ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा पाँच वर्षको अवधिमा मुख्यमन्त्री रोजगार कार्यक्रमबाट २ हजार बढी युवाले रोजगार पाएका छन् । आर्थिक वर्ष २०७६/०७७ देखि हालसम्म नगरभित्रका २ हजार ७ सय ५१ जनाले रोजगार पाएका हुन् ।मुख्यमन्त्री रोजगार कार्यक्रमबाट पाँच वर्षको अवधिमा हालसम्म नगरपालिका २ हजार ७ सय ५१ व्यक्तिले रोजगार पाएको मुसीकोट नगरपालिका रोजगार संयोजक मायाँकुमारी श्रीवास्तवले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाँच वर्षको अवधिमा मुख्यमन्त्री रोजगार कार्यक्रमबाट १३ करोड ६० लाख ४६ हजार रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा स्वीकृत १ करोड ३ लाख ७३ हजार बजेटबाट ६ सय १ जनाले रोजगार प्राप्त  गरेका थिए । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा ५ करोड ६२ लाख ५४ हजार बजेटबाट १ हजार १ सय ४७ व्यक्तीले रोजगार पाएको रोजगार संयोजक श्रीबास्तवले जानकारी दिनुभयो ।

त्यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा ४ करोड ७४ लाख १९ हजार बजेटबाट ७ सय ७३, आर्थिक वर्ष २०७९/०८० मा स्वीकृत २ करोड  १० लाख बजेटबाट २ सय  ३० व्यक्तिले रोजगार प्राप्त गरेका थिए ।आर्थिक वर्ष २०८०/०८१ मा २ करोड १० लाख बजेटमा मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम भएकोमा कति जनाले रोजगार प्राप्त गरे त्यसको विवरण आउन बाँकी रहेको रोजगार संयोजक श्रीबास्तवले जानकारी दिनुभयो ।

मुख्यमन्त्री रोजगार कार्यक्रमबाट गोरेटो बाटो निर्माण, खेलकुद मैदान निर्माण, घेराबार लगायतका  अन्य विकास निर्माणका काम सम्पन्न भएको मुसीकोट नगरपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update