Kakhara सबैको खबर सम्पूर्ण खबर
कोटचौताराबाट स्वास्थ्य सेवा सुरु
मुसीकोट नगरपालिका ४ को आधारभुत स्वास्थ्य केन्द्रको भवन उद्घाटनपछि विरामी जाँच गर्दै स्वास्थ्यकर्मी ।

मुसीकोट नगरपालिकाले ४ नम्बर वडाबाट पनि स्वास्थ्य सेवा प्रवाह थालेको छ । मुसीकोट, कोटचौतारामा बनेको नयाँ भवनको उद्घाटनसँगै स्वास्थ्य सेवा प्रवाह पनि सुरु भएको हो । १७ गते सोमबार केन्द्रको भवन उद्घाटनसँगै स्वास्थ्य सेवा पनि प्रदान गर्न थालिएको हो । नगरप्रमुख देविलाल गौतमले भवनको उद्घाटन गर्नुभएको हो ।

संघीय सरकार स्वास्थ्य मन्त्रालयको ३८ लाख बजेटबाट उक्त भवन बनेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरविर खड्काले जानकारी दिनुभयो । आफ्नै भवन निर्माण गरेर आधारभुत स्वास्थ्य सेवा सुरु भएको खड्काले बताउनुभयो । आधारभुत स्वास्थ्य सेवा केन्द्रमा एक जना एच.ए. वा अहेब, एक जना स्टाफ नर्स वा अनमी र एक जना कार्यालय सहयोगीको दरबन्दी छ ।

१ नम्बर वडाको छिङ, २ नम्बर वडाको समीबोट, ५ नम्बर वडाको थर्पु, ६ नम्बर वडाको दवाङ, ८ नम्बर वडाको घट्टेखोला र १२ नम्बर वडाको पुरेनीचौरमा आधारभुत स्वास्थ्य केन्द्रका भवन बनेका छन् । यी सबैले एकैचोटी सेवा प्रवाह सुरु गर्ने जनाइएको छ । आर्थिक वर्ष २०७६/०७७ मा उक्त बजेट आएको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update